तपाईँ सुन्दै हुनुहुन्छः

पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्रे थालियो

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्रे गर्न थालिएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्रे गन गत सातादेखि सुरु भएको हो ।

पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्रे सुरु गरिएको हो । सडक कालोपत्रे गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग गत माघ पहिलो साता ठेक्का सम्झौता भएको थियो । उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला) सडक योजना कार्यालयका अनुसार सम्झौता भएसँगै कालोपत्रेका लागि अहिले ग्राभेल गर्ने काम भइरहेको छ । निर्माण प्रालिका प्रबन्ध निर्देशक गणेश मैनालीका अनुसार केही दिनमै कालोपत्रे गर्न आवश्यक पर्ने मिशिन तथा आवश्यक सामग्री आइपुग्ने छ ।

ठेक्का सम्झौता अगाडि नै कालोपत्रे गरिसक्ने योजनाका साथ निर्माण तीव्र रुपमा अगाडि बढाइको छ । कार्यालयका सब इन्जिनियर यहोसु लिम्बूका अनुसार सडक कालोपत्रे गर्न निर्माण कम्पनीसँग रु ४० करोड ७६ लाखमा ठेक्का सम्झौता भएको छ । दुई वर्षभित्र सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटीसम्म कालोपत्रे निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको हो । पाथीभरा जाने सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्म आठ किलोमिटर दूरी भने विगतमै कालोपत्रे भइसकेको छ ।

सडक कालोपत्रे भएपछि पाथीभरामा पूजापाठ गर्न आउने तीर्थयात्रीको सङ्ख्या बढ्ने पाभीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । काफ्लेका अनुसार अहिले वार्षिक रुपमा तीन लाखको हाराहारीमा तीर्थयात्री पाथीभरामा आउने र दर्शन तथा पूजापाठ गर्ने गरेका छन् । सुकेटारदेखि काफ्ले पाटीसम्म सडक कालोपत्रे भएमा करिब ३५ प्रतिशत तीर्थयात्रीको सङ्ख्या वृद्धि हुने समितिको अपेक्षा छ ।

हाल कच्ची सडक भएका कारण सुकेटारदेखि उता जुनसुकै सवारी साधन नजाने हुँदा तीर्थयात्रीलाई सकस हुने गरेको छ । कालोपत्रे भए पाथीभरा क्षेत्रसम्म नै गाडी पुग्न सक्ने छ । कालोपत्रे भएपछि जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button