नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्री देउवाको आग्रह
नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीको वातावरण सहज भएकाले ऊर्जा, पूर्वाधार, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ता, उद्योगी एवं व्यवसायीसँग आग्रह गर्नुभएको छ ।

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवाले भारतीय व्यापारिक समुदायसँगको अन्तरक्रियामा नेपालमा भारतीय लगानी बढाउन र भारततर्फको निर्यात सहजीकरणका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
उहाँले भारतले २१ औँ शताब्दीको आर्थिक विकासमा फड्को मार्दै गरेको हुँदा नेपालमा लगानी गर्न र दुई देशबिचको आर्थिक सम्बन्ध अझ विस्तार गर्ने सम्भावना प्रशस्त रहेको बताउनुभयो । कोभिड मारामारीका कारण आम जनजीवन र अर्थतन्त्र नराम्ररी प्रभावित बनेको अवस्थामा विदेशी लगानीलाई आकर्षित गर्न सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणका क्रममा भएका विभिन्न सम्झौताले विद्युत् आदानप्रदान र रेल सेवा सञ्चालनमा सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले नेपालमा ठूला जलविद्युत् आयोजनाको निर्माण गरी भारत लगायत छिमेकी मुलुकमा ऊर्जा व्यापार गर्न सकिने सम्भावना रहेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

कन्फिडरेसन अफ इन्डियन इण्डिष्ट्रिज (सिआइआइ) ले आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायत सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताउनुभयो । पछिल्ला वर्षमा भारतीय लगानी घटिरहेको सन्दर्भमा यसलाई बढाउन नेपाली निजी क्षेत्रले सहजीकरण गर्ने बताउनुभयो ।
त्यस अवसरमा सिआइआइका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताउनुभयो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानीका लागि भइरहेका प्रयासबारे जानकारी गराउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्