बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह

काठमाडौँ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिनका लागि सकेसम्म छिटो बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गर्नुभएको छ ।
बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत र बीमा सर्भेयर सङ्घ, नेपालका पदाधिकारीहरूसँग बिहीबार (हिजो) काठमाडौँमा भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा सर्भेयरबाट समयमै क्षतिको मूल्याङ्कन भयो र बीमा कम्पनीबाट पनि समयमा नै बीमा दाबीको भुक्तानी भयो भने बीमा बजारमा विश्वास बढ्छ र बीमाको दायरा समेत बढ्छ ।”
“प्रत्येक वर्ष बीमाको कारोबार बढ्दै गएको छ, जोखिमका प्रकार बढ्दै छन्, बीमाको दाबी बढेको छ, बीमा सर्भेयर क्षति मूल्याङ्कनका लागि समयमा नगएका धेरै गुनासा आएका छन्, सर्भेयरको व्यवहार राम्रो भएन भन्ने पनि गुनासा छन्” अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा सर्भेयरले आफूले लिएको क्षति मूल्याङ्कनको जिम्मेवारी समयमा नै पूरा गर्नु पर्यो, बीमा कम्पनीले पनि बीमा दाबी भुक्तानी र बीमा सर्भेयरको फी ढिलाइ नगरी भुक्तानी गर्नु पर्यो, पशु मर्यो, बाली बिग्रियो बीमा रकम पाइएन भन्ने गुनासा आउनु भएन, पीडितले समयमा नै बीमा रकम पाउनु प¥यो, कमी कमजोरीलाई सुधारेर अगाडि बढ्नुपर्यो ।”
आगामी १० वर्षमा वित्तीय क्षेत्रमा बीमा क्षेत्र सबैभन्दा अगाडि हुने उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले देशका हरेक नागरिकले बीमाबाट प्रतिफल पाउन सकुन् र बीमा जोखिमको बेलाको साथी बनोस् भनेर बीमा समितिले राष्ट्रिय बीमा नीति ल्याउन र त्यस अनुसार प्रदेश तथा स्थानीय तहमा बीमा नीति निर्माण गर्न पहले गरे अनुसार त्यसले सार्थकता पाउन थालेको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा सर्भेयरहरू स्वतन्त्र भएकाले स्वतन्त्र रूपले क्षति मूल्याङ्कन प्रतिवेदन तयार गरी छिटोभन्दा छिटो बीमा कम्पनीमा बुझाउनुपर्ने बताउनुभयो ।
कार्यकारी निर्देशक पौडेलले बीमा सर्भेयरले क्षति मूल्याङ्कन पूर्ण प्रतिवेदन बुझाउन समय लाग्ने भए तत्काल प्रारम्भिक प्रतिवेदन बीमा कम्पनीमा बुझाउनुपर्ने उल्लेख गर्नुहुँदै बीमा सर्भेयरले प्रतिवेदन बुझाएपछि समयमै सर्भे फी पनि भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गर्नुभयो ।
बीमा समितिका उपनिर्देशक विरोध भट्टले बीमा सर्भेयर सम्बन्धी व्यवस्था बारेको जानकारीमूलक प्रस्तुति गर्नुभएको कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री र बीमा सर्भेयर सङ्घ, नेपालका अध्यक्ष मोहनपुरूष ढकालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बीमा समितिका निर्देशकहरू कमल प्रसाद रेग्मी, सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल(अधिकारी) र दिनेश कुमार लाल, निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरू तथा बीमा सर्भेयर सङ्घ, नेपालका वर्तमान तथा निवर्तमान पदाधिकारीहरूको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्