प्रधानमन्त्री देउवाको भारत भ्रमणको प्रमुख एजेण्डा मध्ये रेल्वेको उद्घाटन पनि : मन्त्री यादव

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको प्रमुख एजेण्डा मध्ये जनकपुर–जयनगर रेलको उद्घाटन गर्ने कार्यक्रम रहेको बताउनु भएको छ ।
मन्त्री यादवले जनकपुरधाममा भोलि हुने नेपाल रेल्वेको औपचारिक उद्घाटन कार्यक्रममा सहभागी हुनका लागि जनकपुरधाम आएको वेलामा विमान स्थलमा सञ्चारकर्मीहरुसंग आज कुरा गर्दै सो कुरा बताउनु भएको हो ।
उहाँले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा नयाँ दिल्लीको हैदरावाद हाउसमा स्विच थिचेर रेल्वेको उद्घाटन गर्नु हुने कार्यक्रम रहेको बताउनु भयो । रेल्वेको उद्घाटन भएपछि नेपालको एकमात्र रेल्वेको सेवा भोलि देखि यात्री बोकेरै सञ्चालनमा आउने मन्त्री यादवले बताउनु भयो ।
उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको भोलि देखि हुन लागेको भारत भ्रमणको मुख्य एजेन्डा मध्ये एक रेल्वेको उद्घाटन गर्नु पनि रहेको जानकारी दिनु भयो ।
एक अर्को प्रश्नमा जनता समाजवादी पार्टीका नेत्री समेत रहनु भएकी मन्त्री यादवले अगामी स्थानीय तहमा सबै पालिकाका गठबन्धन हुने सम्भावना कम रहेको बताउँदै स्थानीय परिवेश, परिस्थिति र आवश्यकताको आधारमा गठबन्धन हुने गरी तयारी भइरहेको बताउनु भयो ।
एक अर्को प्रसङ्गमा मन्त्री यादवले लोकतान्त्रिक समाजवादी पार्टी अटल बिचारका साथ आए पुनः गठबन्धनको सम्भावना रहेको बताउनु भयो । गठबन्धनका लागि मुख्य विषय एजेन्डा र बिचार रहेकाले लोसपाले बिचार लिएर आए गठबन्धनको सम्भावना अझै भएको बताउनु भयो ।
उता नेपालको एक मात्र बहुप्रतिक्षित जनकपुर जयनगर रेल्वे सेवाको उद्घाटनको औपचारिक कार्यक्रम गर्नका जनकपुरधाममा विशेष रुपमा तयारी भइरहेको छ । जनकपुर र जयनगर रेल्वे स्टेसनको सरसजावटको काम भइरहेको छ ।
जनकपुरधाममा हुने उद्घाटन कार्यक्रममा सहभागी हुनका लागि मन्त्री यादवका अतिरिक्त मधेस प्रदेश सरकारका प्रतिनिधि, विहार सरकारका प्रतिनिधि, भारतीय रेल्वेका उच्च अधिकारीहरू सहभागी हुने कार्यक्रम रहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनु भयो ।







प्रतिक्रिया राख्नुहोस्