तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता साझेदार दलबीच स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति

काठमाडौँ । सत्ता साझेदार दलहरूले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । 

सत्ता साझेदार दलका शीर्ष नेताहरूको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरू मिलेर जाने निर्णय भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो ।

बैठकमा चुनावी तालमेलका लागि स्थानीय स्तरमा सत्ता साझेदार दलहरू सम्मिलित संयन्त्र बनाउने समेत सहमति भएको छ । 

नेपाली काँग्रेसको यही चैत १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताअनुरूप सत्ता गठबन्धनमा रहेका अन्य दलसँग चुनावी तालमेल गर्न सक्ने नीतिगत निर्णय गरेको थियो । 

शीर्ष नेताबीच सत्ता साझेदार दलको अर्को बैठक यही चैत २१ गते बस्ने सहमति भएको छ ।  

बैठकमा गठबन्धनका नेताहरूले प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवालाई आसन्न भारत भ्रमणको शुभकामना दिँदै द्विपक्षीय मुद्दाको सम्बोधनका लागि कूटनीतिक पहल गर्न समेत आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको सौहार्दपूर्ण निमन्त्रणामा यही चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button