तपाईँ सुन्दै हुनुहुन्छः

मिथ्या र भ्रामक समाचारले सञ्चार माध्यमको विश्वसनीयतामा प्रश्न उठ्ने : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकासका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

आज काठमाडौँमा रिपोर्टस् क्लबको २४ औ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सूचना प्रविधिको मिथ्या र भ्रामक समाचारले सञ्चार माध्यमको विश्वसनीयतामा प्रश्न उठ्ने बताउनुहुँदै निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नेपालको संविधानले ज्ञारेन्टी गरेकाले लोकतान्त्रिक स्थिरताका लागि अब प्रेस जगतले कलम चलाउनुपर्ने बताउनुभयो ।

सरकारले अगामी दस वर्षभित्रमा नेपाललाई एसियाको सम्पन्न मुलुकका रुपमा स्थापित गर्ने लक्ष्य लिएको बताउनुहुँदै उहाँले समृद्धिको यात्रामा सँगसँगै अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई संकट पर्दा माओवादीले जहिले पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्नुहुँदै शान्ति सम्झौतादेखि एमसिसी पास गर्नेसम्मका काम माओवादी अग्रसर भएरै सम्भव भएको बताउनुभयो ।

त्यस्तै नेकपा एमालेका नेता तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले राजनीतिक दलहरू मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, नेपाल पत्रकार महासङ्घका अध्यक्षलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

रिपोर्टस् क्लबले वार्षिकोत्सवका अवसरमा विभिन्न पत्रकारलाई पुरस्कार वितरण तथा सम्मान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button