बागलुङको बडिगाडमा पेस्तोलसहित एक जना पक्राउ
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका ५ ग्वालीचौरबाट एक युवा पेस्तोलसहित पक्राउ परेका छन् ।
प्रहरीले सोही स्थानमा बसोबास गर्ने ४० वर्षीय श्याम बहादुर रेश्मीलाई मेड इन युएसएलेखेको एन १११७नम्बरको अटोमेटिक पेस्तोल र त्यसको म्यागेजिन तथा ४ राउन्ड गोली सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बुधवार ग्वालीचौर प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक गुरुप्रसाद न्यौपानेसहित सादा पोसाकमा खटिएको प्रहरी टोलीले रेश्मीलाई घरबाटै पक्राउ गरेको हो । रेश्मी विगत ४ वर्ष अगाडि हतियार केशमा जेलमा बसी छुटेका थिए ।
उनी गुण्डागर्दीमा संलग्न हुन सक्ने भएकोले प्रहरीले निगरानी गर्दै आएको थियो । रेश्मीको साथमा पेस्तोल र गोलीहरू कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।
स्मरण रहोस् जिल्ला प्रशासन कार्यालय बागलुङले केही दिन अघि जिल्लाका नागरिकहरूलाई आफूसँग रहेका लाइसेन्ससहितका हतियार निर्वाचन अवधिभर प्रहरी कार्यालयमा ल्याएर बुझाउन अनुरोध गरेको थियो।







प्रतिक्रिया राख्नुहोस्