तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सरकारका उपलब्धिलाई जनतामा लान अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले विगतमा सरकारको नेतृत्व गर्दा भएका उल्लेखनीय उपलब्धिलाई जनतामाझ लिएर जान निर्देशन दिनुभएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनको प्रतिबद्धता–पत्र तयारीसम्बन्धी कार्यशालालाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध सत्ता गठबन्धन एक भएर अघि आए पनि कुनै फरक नपर्ने गरी काम गर्न पनि आग्रह गर्नुभयो । 

पार्टीका देशभरकै स्थानीय तह हेर्ने नेतृत्वलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “गठबन्धन उहाँहरूको छनोट होइन, बाध्यता हो । तर, यसले हामीलाई फरक पार्दैन । दिनदिनै हजारौँ मानिसले एमालेमा प्रवेश गरिरहनुभएको छ । हाम्रो विजय सुनिश्चित छ ।”

एमालेका उपाध्यक्ष एवं घोषणापत्र मस्यौदा समितिका संयोजक ईश्वर पोखरेलले प्रतिबद्धता पत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पार्दै जनताका बीचमा पुग्न आग्रह गर्नुभयो । भर्चुअल बैठकमा पार्टीका स्थायी कमिटीका सदस्य, प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका पदाधिकारी, पार्टीका तर्फबाट गत निर्वाचनमा स्थानीय तहमा निर्वाचित पालिकाका प्रमुख सहभागी हुनुहुन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button