बलात्कारको झुटो आरोप लगाउने युवतीलाई साढे ३ बर्ष कैद

अछाम । अछाममा बलात्कारको झुटो आरोप लगाउने एक युवतीलाई जेल चलान गरिएको छ।
जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ७ की १९ वर्षीया युवतीलाई साढे तीन वर्षको जेल सजाय तोकिएको हो। जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले सो फैसला गरेको हो ।
बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय नन्दराम खनाललाई सफाइ दिएर अदालतले युवतीलाई कारागार पठाउने फैसला गरेको जिल्ला अदालत अछामका सूचना अधिकारी कमल प्रसाद ढुङ्गानाले बताउनुभयो ।
अछाम प्रहरीका अनुसार युवकले तत्काल विवाह नगर्ने भनेपछि रिसको आवेगमा युवतीले बलात्कारको उजुरी दिएर फसाउन खोजेकी थिइन्। तर, झुटो आरोप लगाएको पुष्टि भएपछि युवतीलाई अदालतले कैद फैसला गरेको बताइएको छ।
ती युवतीले नन्दरामले माघ १५ गते राति आफ्नै घरमा बलात्कार गरेको भन्दै माघ १७ गते प्रहरीमा उजुरी दिएकी थिइन्। झुटा मुद्दामा फसाउने प्रयत्न गरेबापत मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २१९ अनुसार तीन वर्ष छ महिना कैद हुने ठहर गरेको छ।
नन्दरामलाई प्रहरीले कमलबजार नगरपालिका–६ गैरीटाँड बजारबाट माघ १८ गते पक्राउ गरेको थियो।







प्रतिक्रिया राख्नुहोस्