कपिलवस्तुका ८२ घरपरिवारलाई लालपुर्जा वितरण

कपिलवस्तु । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक वर्षभित्र गाउँब्लकको जग्गा सम्बन्धी सबै समस्या समाधान गरेर लालपुर्जा वितरण गरिसक्ने गरी योजना बनाएर काम अगाडि बढेको बताउनुभएको छ ।
कपिलवस्तुको शुद्धोधन नगरपालिका वडा नं. ६ को गाउँब्लकमा रहेका ८२ घरपरिवारलाई आज जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँब्लकमा रहेका सबै नागरिकले छिटो लालपुर्जा प्राप्त गरुन् भनेर विशेष अभियान मार्फत कामलाई तीव्र पारिएको बताउनुभयो ।
मन्त्री श्रेष्ठले यसअघि योजनामा नै नरहेको गाउँब्लकमा लालपुर्जा वितरणको कामलाई आफूले मन्त्रालय सम्हालेपछि पहिलो प्राथमिकतामा राखेर अगाडि बढाएका कारण ४ महिनाको अवधिमा विभिन्न ठाउँका गाउँब्लकमा रहेका २० हजार भन्दाबढी भूमिहीनलाई लालपुर्जा वितरण गरिएको बताउनुभयो ।

उहाँले भूमिसम्बन्धी सबै विषय छिटोभन्दा छिटो समाधान गर्न अहिलेको सरकार लागिरहेको र त्यसै अनुरूप भूमि चक्लाबन्दी गर्ने, कृषि योग्य जग्गा संरक्षण र उत्पादकत्व वृद्धि गर्न भूमिसम्बन्धी कानून बनाउने काम भइसकेको पनि बताउनु भयो ।
सरकारले सरकारी, सार्वजनिक, सामुदायिक र गुठी जग्गा संरक्षणको योजना बनाएर काम शुरु गरेको, वैज्ञानिक भूमिसुधारलाई लागू गरेर भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न अबको योजनामा नै व्यवस्था गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।
भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम शुरु गरिसकेको र छिट्टै जिल्ला आयोग गठनको काम सम्पन्न हुने भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्यालाई दिगो रुपमा नै समाधान गर्न आफू लागिरहेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले हलीया, हरवा, चरवा, कमैया, कमलरीको समस्या समाधान गर्न अध्ययन समितिले स्थानीय तह, प्रदेश र सङ्घले गर्ने काम समेटेर प्रतिवेदन तयार पारिराखेको र सोही प्रतिवेदनका आधारमा छिट्टै काम शुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुषा, सुनसरी, चितवनको इच्छाकामना गाउँपालिका, काठमाडौँको कीर्तिपुर नगरपालिका, भक्तपुरको मध्यपुर ठिमी नगरपालिका, तनहुँको बन्दीपुर, चितवनको भरतपुर महानगरपालिका र बाँकेको कोहलपुर नगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहीनहरूलाई लालपुर्जा वितरण गरिसक्नुभएको छ ।
२०२१ साल यता विभिन्न समयमा जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपुर्जा विहीन बनिरहेकाहरूलाई लालपुर्जा वितरण अभियान तीव्र पारिएको छ ।







प्रतिक्रिया राख्नुहोस्