तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीसमक्ष नुवाकोटवासीद्वारा ज्ञापनपत्र प्रस्तुत

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतको नेतृत्वको नुवाकोट जिल्लाको प्रतिनिधिमण्डलले ज्ञापनपत्र प्रस्तुत गरेको छ ।

प्रतिनिधिमण्डलले नुवाकोट जिल्लाका विविध समस्याको समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । 

प्रधानमन्त्रीसँगको भेटमा प्रतिनिधिमण्डलका तर्फबाट डा महतले ककनी हुँदै नुवाकोट जाने बाटो ठेक्का लगाएको १० वर्षसम्म निर्माण पूरा नभई अलपत्र परेकाले जनजीवन कष्टकर भएको विषय राख्नुभएको थियो ।

उहाँले उक्त बाटोको निर्माण तत्काल पूरा गर्न प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन गर्न आवश्यक भएको बताउनुभएको थियो ।

ज्ञापनपत्रमा नुवाकोटको बञ्चरे डाँडाको डम्पिङ साइटको व्यवस्थापन गर्दा स्थानीयवासीको सरोकारलाई ध्यान दिन पनि अनुरोध गरिएको छ । पूर्व मन्त्रीसमेत रहनुभएका डा महत ककनीमा नेपाली काँग्रेसले आयोजना गरेको गाउँ गाउँ जाऔँ, नेपाली कांग्रेस जिताऔँ अभियानअन्तर्गतको प्रशिक्षणमा सहभागी भएर फर्कँदा स्थानीयवासीले फोहरमैला व्यवस्थापनको समस्या प्रधानमन्त्रीसमक्ष पुर्‍याइदिन अनुरोध गर्नु भएको थियो।

यस्तै ज्ञापनपत्रमा नुवाकोटका विभिन्न दुर्गम गाउँपालिकाहरूमा गुठी जग्गा दर्ता नभएर उत्पन्न भएको समस्या समाधान गर्न पनि माग गरिएको छ । नुवाकोटको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले ज्ञापनपत्रमा उल्लेख गरिएका मागहरू तत्काल पूरा गर्न सम्बन्धित निकायका प्रमुखहरूलाई बोलाएर तुरुन्त कार्यान्वयनका लागि निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवासँगको भेटका अवसरमा प्रवक्ता डा महतका अतिरिक्त नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामा, नेपाली काँग्रेसका जिल्ला सभापति रमेश महत, सरोकार समितिका अध्यक्ष आदित्य श्रेष्ठ, जिल्ला भूमि आयोग नुवाकोटका अध्यक्ष अर्जुन न्यौपानेलगायत नगर समितिका अध्यक्षहरूले पनि समस्याका बारेमा प्रकाश पार्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button