तपाईँ सुन्दै हुनुहुन्छः

मतपत्र छपाई गर्न जनक शिक्षा सामग्री केन्द्रलाई दिने आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरूलाई दल दर्ताको समयमा प्राप्त गरेको चुनाव चिह्नकै आधारमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको छ ।

निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गरेर स्थानीय तहको निर्वाचनमा साना दलहरूलाई दल दर्ताको समयमा लिएको चुनाव चिह्न प्रदान गर्ने निर्णय भएको जानकारी दिएको हो ।

file photo

राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका साना दलहरूले आफ्नै चुनाव चिह्न पाउनुपर्ने माग गरेका थिए । आयोगले ती दललाई जिल्लामा रहेको सङ्गठन संरचनाको जिल्लागत विवरण माग गरेर त्यसका आधारमा जिल्लामा दलहरूको सङ्ख्या समेत टुङ्गो लगाएको छ ।

स्थानीय तह निर्वाचनका लागि आयोगमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलबाहेक ७३ राजनीतिक दलले दल दर्ता गराएका थिए । राजनीतिक दलसम्बन्धी ऐन अनुसार राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिह्न पाउने व्यवस्था छ ।

यस्तै आयोगले स्थानीय निर्वाचनमा भाग लिन पाउने अन्तिम मतदाताको नामावली समेत स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगका अनुसार ८७ लाख ४१ हजार ५ सय ३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र अन्य १ सय ८३ गरी कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएको छ ।

स्थानीय निर्वाचनका लागि आयोगले कुल १० हजार ७ सय ५६ वटा मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र समेत कायम गरेको छ ।

यसैगरी आयोगले मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रलाई दिने निर्णय गर्नुका साथै त्यसका लागि तयारी हालतमा रहन केन्द्रलाई निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button