तपाईँ सुन्दै हुनुहुन्छः

न्यायिक समिति लोकतन्त्र र सभ्यताको वाहक: राष्ट्रपति भण्डारी

कास्की । पोखरा महानगरपालिकाको न्यायिक समितिले पहिलो पटक आयोजना गरेको ‘न्यायिक समितिको राष्ट्रिय सम्मेलन’ २०७८ सम्पन्न भएको छ ।

सम्मेलनको उद्घाटन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समिति लोकतन्त्र र सभ्यताको बाहक भएको बताउनुभयो ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले पहिले पहिले कचहरीहरूले न्यायको काम गर्दै आएकामा अहिले स्थानीय सरकारले नै त्यसको काम गरेको बताउनुभयो । उहाँले पीडितलाई न्याय र पीडकलाई दण्ड दिने कुरा ठुलो भएको भन्दै यसमा गाम्भीर्यता जरुरी रहेकोमा जोड दिनुभयो ।

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानले न्यायिक समितिको क्षेत्राधिकार किटान गरेकाले सो अनुसार न्याय सम्पादन गर्न आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले न्यायिक समितिको क्षेत्राधिकार बिस्तार गरेर घरदैलो बाटै न्याय दिन सकिने बताउनुभयो ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले न्यायिक समितिको क्षेत्राधिकार बढाउनु पर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष नवराज गेलाल, जिल्ला समन्वय समिति महासङ्घका पूर्व अध्यक्ष तथा जिल्ला समन्वय समिति स्याङ्जाकी प्रमुख सीतादेवी सुन्दास, पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी लगायतले न्यायिक समितिले सीमित श्रोत र साधनमा पनि प्रभावकारी काम गरेको बताउनुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै पोखरा महानगरपालिका न्यायिक समितिकी प्रमुख मञ्जुदेवी गुरुङले न्यायिक समिति र अदालत दुबैतर्फ उजुरी गर्न मिल्ने दोहोरो क्षेत्राधिकारको प्रयोगले न्याय सम्पादनमा विरोधाभास र अन्यौलता सिर्जना गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button