तपाईँ सुन्दै हुनुहुन्छः

‘वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गर्न निर्देशन’ 

काठमाडौँ । किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्त्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले आयोजित विश्व वित्तीय सप्ताह वित्तीय शिक्षा तथा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू गर्दै आइतबार सम्पन्न भएको छ ।

विश्व वित्तीय सप्ताह यही चैत्र ७ गतेदेखि १३ गतेसम्म वित्तीय शिक्षा तथा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू देशका प्रमुख चार सहरका अतिरिक्त काठमाडौँमा आयोजना गरी मनाइएको हो ।

नेपाल धितोपत्र बोर्डद्वारा आयोजित विश्व वित्तीय सप्ताह अन्तर्गत धनगढी, पोखरा बुटवल र विराटनगरमा वित्तीय शिक्षा तथा सचेतना सम्बन्धी कार्यक्रमहरू सम्पन्न भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । 

सप्ताहको अन्तिम दिन चैत १३ गते काठमाडौँमा वित्तीय साक्षरता सम्बन्धी प्रभात फेरी कार्यक्रम सम्पन्न गरी समापन गरिएको छ । 

समापन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले सर्वसाधारणलाई बुद्दिमतापूर्वक निर्णय लिन सक्षम बनाउन वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गर्न निर्देशन दिनुभयो ।

अर्थमन्त्री शर्माले वित्त परिचालन गर्ने संस्थाहरूले वित्तीय शिक्षा सम्बन्धी कार्यक्रमहरूबाट ग्रामीण जनसमुदाय समेत लाभान्वित हुने गरी दूर दराजसम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अर्थमन्त्री शर्माले पछिल्लो समय बजारमा उल्लेख्य सहभागिता बढ्दै गएकोले यस क्षेत्रको बारेमा सबैलाई बुझाउन आवश्यक रहेको बताउनुभयो ।

मन्तव्यकै क्रममा अर्थ मन्त्री शर्माले नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री एवं आधुनिक बनाउन र बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा विकास गर्न सम्बद्ध सबै पक्षलाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले साताव्यापी कार्यक्रमहरूबाट बोर्डलाई लगानीकर्ताको हक हित संरक्षण, बजारको विकास तथा विस्तारको लागि थप हौसला मिलेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button