नेपाल र चीनबीच द्विपक्षीय प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु

काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका चीनको राज्य परिषद् सदस्य एवम् विदेश मन्त्री वाङ यीसहितको प्रतिनिधिमण्डल र नेपालका परराष्ट्र मन्त्री डा।नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डलबीच द्विपक्षीय प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु भएको छ । ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दुई देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता सुरु भएको हो ।

वार्तामा परराष्ट्र मन्त्री खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डलमा परराष्ट्र, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुन्छ ।
त्यस्तै, विदेश मन्त्री वाङ नेतृत्वको १९ सदस्यीय प्रमण्डलमा नेपालका लागि चीनका राजदूत हउ यान्छी, चीनको विदेश मन्त्रालयका सहसचिव वु जिङवाओ, वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङ, विदेश मन्त्रालयको एशियाली मामिला विभागका महानिर्देशक लिउ जेनसङ, नायब शिष्टाचार महानिर्देशक सोङ जिया र विदेश मन्त्री याङका सचिव देङ झेइ रहनुभएको छ ।

वार्तापछि दुई देशबीच विभिन्न नौ वटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ । त्यसमा आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वास्थ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।
यस्तै, खोप हस्तान्तरण र मर्मत सम्भार र एवम् स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण एवम् घाँस निर्यातलगायत समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।







प्रतिक्रिया राख्नुहोस्