तपाईँ सुन्दै हुनुहुन्छः

मेला महोत्सवले आर्थिक समृद्धिमा टेवा पुर्‍याउँछ : प्रधानमन्त्री देउवा

तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मेला महोत्सवबाट स्थानीय उत्पादनको प्रचारप्रसार र उपयोग भई आर्थिक समृद्धिमा टेवा पुर्‍याउने बताउनुभएको छ । 

तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारदेखि सुरु भएको आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।

उहाँले स्थानीय उत्पादनको बजारीकरणमा समेत महोत्सवले सहयोग पुर्‍याउने बताउनुभयो । उहाँले भन्नुभयो “गाउँ गाउँमा लुकेर बसेका कला र क्षमताको समेत प्रचारमा समेत सहयोग पुग्नेछ ।”

महोत्सवमा आउने आन्तरिक र बाह्य पर्यटकलाई स्थानीय पर्यटकीय स्थलसम्म पुर्‍याउन सके आन्तरिक पर्यटनमा टेवा पुग्ने उहाँको भनाई छ  । 

“जिल्लाका विभिन्न कला, सम्पदा र स्थानीय उत्पादनलाई एकै ठाउँमा समेट्न महोत्सवको महत्त्वपूर्ण भूमिका रहन्छ ।” प्रधानमन्त्रीले भन्नुभयो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले गठबन्धनको सरकारले संविधान र लोकतन्त्रको रक्षा गरेको बताउनुभयो । 

“संसद् जोगाउने गठबन्धन आगामी चुनावमा अनि एकजुट हुनुपर्ने जनताको माग र चाहना छ ।”, उहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनले साझा उम्मेदवार चयन गर्नुपर्ने बताउनुभयो । 

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी नेपालको गरिबी हटाउने महत्त्वपूर्ण अनुदान सहयोग भएको बताउनुभयो । “एमसीसी पास गर्ने अठोट लिनुभएकोमा प्रधानमन्त्री ज्युलाई धन्यवाद दिन चाहन्छु ।” उहाँले थप्नुभयो । 

मानिसहरूलाई गाउँमा नै रोक्न रोजगारीको सिर्जना गाउँमा नै गर्नुपर्ने बताउनुहुँदै उहाँले देशमा कृषि क्रान्ति, उर्जाशक्तिको विकास गरेर अब नेपाललाई आत्मनिर्भर बनाउने बाटो हामी जानुपर्ने बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button