निर्वाचनमा कांग्रेस एकढिक्का हुनुपर्छ : निधि

धनुषा। नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको बलियो उपस्थितिका लागि एकढिक्का भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । काँग्रेसको १४औँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित धनुषा जिल्लाको पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्न बुधबारआयोजित कार्यक्रममा नेता निधिले निर्वाचनमा भएको आन्तरिक प्रतिस्पर्धालाई सामान्य रूपमा लिन आग्रह गर्नुभयो ।
नेता निधिले नेता कार्यकर्तालाई काँग्रेसलाई जिताउने अभियानमा सक्रिय भएर लाग्न आग्रह गर्दै उहाँले आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनको टिकटका लागि आफू कहाँ नआई वडामा जान नेता कार्यकर्तासँग आग्रह गर्नुभयो ।
निधिले पहिला जस्तो परिस्थिति अब नरहेकाले टिकटका लागि आआफ्नो वडामा जान नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेता कहाँ गएर हारगुहार गर्नुभन्दा विधानको पालना गर्दै आआफ्नो वडामा गएर आफूले गरेको कार्यको मूल्याङ्कन र निर्वाचन जित्नसक्ने क्षमताका आधारमा टिकट माग्नुस् ।”
धनुषाका नवनिर्वाचित पार्टी सभापति योगेन्द्र पजियारको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीलगायतले पार्टीको सम्पन्न महाधिवेशनबाट आएका परिणामलाई आन्तरिक कलह नबनाइ एकजुट भएर निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्