संविधानले दिएको जिम्मेवारी बहन गर्न सङ्गठन तयार छ : प्रधानसेनापति

दिपायल । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको साङ्गठनिक संरचना परिवर्तन भए पनि मूल नीति, मर्म, क्षमता, भूमिका र सैनिक क्रियाकलापमा भने फरकपन नरहेको बताउनुभएको छ ।
यहाँ स्थित ५ नं वाहिनी राजपुर ब्यारेकमा आज आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपालको स्वाधीनता र नेपाली जनताको सुरक्षामा सेनाले दत्तचित्त भएर काम गर्दै आएको स्पष्ट पार्नुभयो । सेनाले अघिल्लो वर्षदेखि पृतना संरचनालाई परिवर्तन गरी कमान्ड अवधारणालाई अघि बढाएको थियो ।
प्रधान सेनापति शर्माले भन्नुभयो, “संविधानले दिएको जिम्मेवारी बहन गर्न सङ्गठन तयार छ । सेनाले भूपूलाई माटो र समाज सुहाउँदो क्रियाकलाप गर्न कल्याणकारी कोषमार्फत सक्दो सहयोग प्रदान गर्दै आएको छ । तपाईँहरूले ज्ञान र सीप स्वदेशमा नै उपयोग गर्नोस् ।”
प्रत्येक सेनापतिले आफ्नो तीन वर्षे कार्यकालमा कम्तीमा एक पटक प्रदेश स्तरमा भूपू सम्मेलन र स्वास्थ्य शिविर एकैसाथ गर्ने अभ्यास रहिआएको छ । नेपाली सेनाको व्यवस्थापन र सैनिक कल्याणकारी बोर्डको समन्वयमा भएको सम्मेलनमा भूपू सैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्य सेवा एवम् लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलियत ब्याजदरमा उपलब्ध गराइने रकमको चेक तथा उत्कृष्ट व्यवसायीलाई नगद पुरस्कार प्रदान गरियो ।

सम्मेलनमा ज्येष्ठ भूपू सैनिक तथा एकल महिलाको सम्मान तथा अशक्तलाई ह्विलचियर उपलब्ध गराइयो । चार जना वा सोभन्दा माथि सन्ततिलाई सेनामा सेवा गर्न प्रेरित गर्ने बाबुआमालाई पनि सम्मेलनमा सम्मान गरियो ।
सम्मेलनलाई भूपू सैनिकले आफ्ना सहपाठीसँगको भेटघाट, औषधिमूलोका हिसाबले अभूतपूर्व जमघटका रुपमा लिने गरेका छन् । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा जीवनको महत्त्वपूर्ण क्षण बिताएका भूपू सैनिक र निवृत्तिभरणमा रहेका आश्रित एकल महिलाको सङ्ख्या करिब ८५ हजार छ । सम्मेलनका क्रममा प्रस्तुत भएको यस क्षेत्रका संस्कृति झल्कने नाचगानसहितको झाँकी हेरेर भूपू सैनिक र उनका परिवार फुरुङ्ग देखिन्थे । भूपू सैनिकको जीवनस्तरमा सुधार ल्याउन सेनाले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराई व्यवसाय सञ्चालन प्रवर्द्धनमा सहयोग पुर्याउँदै आएको छ ।
सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले भूपू सैनिक र आश्रित परिवारका पीरमर्का सुन्ने, राय सुझाव लिने र विशेषज्ञसहितको स्वास्थ्य सेवा घरदैलोबाट नै दिने उद्देश्यले हिताधिकारीलाई लक्षित गरी सम्मेलन आयोजना गरिएको स्पष्ट पार्नुभयो ।
‘बहुजन हिताय, बहुजन सुखमय’ उद्देश्य राखी स्थापना भएको सैनिक कल्याणकारी कोषले करिब १० लाखको सङ्ख्यामा रहेका आफ्ना सदस्यलाई स्वास्थ्य, शिक्षा, सीप र स्वरोजगार तथा सुविधा र सहुलियतका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्दै आएको छ । सम्मेलनमा दार्चुला, बझाङ, बाजुरा, डोटी, डडेलधुरा, अछाम र बैतडीमा स्थायी बसोबास भएका करिब ५५० भूपू सैनिकको सहभागिता थियो । रासस







प्रतिक्रिया राख्नुहोस्