प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता भोलिदेखि
भक्तपुर । भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा भोलिदेखि हुने प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ को सम्पुर्ण तयारी पुरा भएको छ ।
सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारेमा जानकारी दिँदै अध्यक्ष राजेन्द्र प्रजापतिले चैत १२ गतेसम्म भक्तपुरको लिलालीमा हुने प्रतियोगितामा सातै प्रदेशका ५५ जिल्लाका २ सय ७९ खेलाडी सहभागी हुने बताउनुभयो ।

भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा नेपाल ब्याडमिन्टन सङ्घको तत्त्वावधानमा हुने प्रतियोगिता नेपाल ब्याडमिन्टन सङ्घ र ब्याडमिन्टन वर्ल्ड फेडेरेशन नियम अनुसार सञ्चालन हुने उहाँले बताउनुभयो ।
प्रतियोगिताका संयोजकमा नवीन प्रजापतिले ६ वटा विधाहरूमा प्रतियोगिता हुने बताउनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय खेलाडीहरूलाई नगद पुरस्कारसहित विद्यागत रुपमा मेडल, शिल्डको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रतियोगितामा १५ वर्ष मुनिका पुरुष तथा महिलातर्फ प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई सात हजार ५००, पुरुष एकल प्रथमलाई ३५ हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १२ हजार ५०० नगद पुरस्कार दिइनेछ ।
त्यस्तै पुरुष एकल तथा महिला एकलतर्फ प्रथमलाई ३५ हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १२ हजार ५००, भेट्रान डबल र पुरुष डबलतर्फ प्रथमलाई ३० हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई सात हजार ५०० नगद पुरस्कार वितरण गरिने संयोजक प्रजापतिले जानकारी दिनुभयो ।
प्रतियोगितामा कुल १६ लाख ८६ हजार ५०० रुपैयाँ खर्च हुने अनुमान गरिएको बताउँदै उहाँले खेललाई सफल बनाउन विभिन्न समिति, उपसमिति गठन गरी तयारी पुरा गरेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्