तपाईँ सुन्दै हुनुहुन्छः

‘भ्रष्टाचार नियन्त्रणका लागि सबैको सहकार्य र समन्वय आवश्यक’

बीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा.हरि पौडेलले अख्तियारको एक्लो प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण नहुने हुँदा सबैको सहकार्य र समन्वय आवश्यक रहेको कुरामा जोड दिनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौँडाद्वारा आज वीरगन्जमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा आयुक्त डा.पौडेलले कानुन बमोजिम काम कारबाही गर्ने व्यक्ति अख्तियारसँग डराउन नपर्ने बताउनुहुँदै नियम विपरीत आर्थिक क्रियाकलाप गर्ने, जनतालाई अनावश्यक दुःख दिने, आर्थिक प्रलोभनमा नियम विपरीतका काम गर्नेहरूलाई अख्तियारले कारबाही गर्दै आएको बताउनुभयो ।

अन्तरक्रियामा भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका तथा पर्सा जिल्लामा भ्रष्टाचार तथा अनियमितताका घटना र उजुरीका अवस्थाका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय काठमाडौँका उपसचिव वेदप्रसाद भण्डारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौडाका प्रमुख अर्जुन कुमार शर्माले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महम्मद अन्सारी लगायत जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरू, १४ वटै पालिकाका जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृतहरू, नागरिक समाजका अगुवा, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विशेष गरी जनप्रतिनिधिहरूले पर्सामा व्यक्तिगत रिसइवीका कारण उजुरीहरू अख्तियारमा पर्ने गरेको प्रति दुखेसो व्यक्त गरेको आयोगका क्षेत्रिय कार्यालय हेटौडाका प्रवक्ता विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button