सरकारमा सहभागी हुने विषयमा छलफल जारी : लोसपा अध्यक्ष ठाकुर

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वर्तमान सरकारमा सामेल हुने विषयमा प्रधानमन्त्रीसँग आफूहरूको छलफल भइरहेको बताउनु भएको छ ।
अध्यक्ष ठाकुरले पार्टीको केन्द्रीय सचिवालयले आज देखि जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरूको पार्टीलाई दुई वटा मन्त्रालय दिने विषयमा छलफल भएको बताउनु भयो ।
उहाँले मधेशका मुद्दाको सम्बोधन, नागरिकता समस्याको समाधान तथा मधेश आन्दोलनको क्रममा लगाइएको झुठामुद्दा खारेजको विषयमा आफूहरूको अडान यथावत् रहेको बताउनु भयो ।
लोसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवा आफूहरूले राख्दै आएको माग प्रति सकारात्मक भएको बताउँदै मागको सम्बोधन चाँडो हुने आशा पनि व्यक्त गर्नु भयो ।
स्थानीय तहको चुनावमा पार्टीले गर्ने चुनावी तालमेलको विषयमा पार्टी भित्र छलफल भएपनि निष्कर्षमा नपुगेको बताउनु भयो ।
लोसपाका अध्यक्ष ठाकुरले एमसीसी देश विकासका लागि आवश्यक भएकाले नै आफूहरूले शुरु देखि पक्षमा रहेको बताउँदै केही नेताले भ्रम सृजना गर्ने काम मात्र गरेको बताउनु भयो ।
प्रशिक्षण कार्यक्रममा धनुषा, महोत्तरी, सिरहा, सप्तरी जिल्लाका २०–२० जना गरेर कूल ८० जनाको सहभागिता रहेको छ । प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता राजेन्द्र महतो, शरद सिंह भण्डारी, अनिल झा सहितका नेताहरू सहभागी रहनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्