चुनावमा राम्रो परिणामका लागि गठबन्धन आवश्यक : अध्यक्ष प्रचण्ड

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रहेका गठबन्धन दलहरूको बीचमा सहकार्य स्थानीय चुनावमा भए राम्रो परिणाम आउने भएकोले गठबन्धन आवश्यक भएको बताउनु भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुनका लागि आज जनकपुरधाम आउनु भएपछि जनकपुर विमान स्थलमा आयोजना गरिइएको पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताउनु भएको हो ।
उहाँले वर्तमान गठबन्धनको सरकार संविधान, लोकतन्त्र तथा अहिलेको उपलब्धिहरूको रक्षाका लागि नै भएकाले चुनावमा गठबन्धनको पक्षमा आफूहरू भएपनि गठबन्धन नबनेको खण्डमा नेकपा माओवादी केन्द्र एक्कै भएपनि चुनावमा जाने बताउनुभयो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही दिनमा मन्त्रीहरू हेरफेर हुनसक्ने बताउँदै नेकपा माओवादी केन्द्रले गठबन्धनका लागि खेलेको भूमिका तथा सरकार निर्माणमा गरेको त्यागका कारणले हैसियत अनुसार थप मन्त्रालयहरू पाउने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताहरूसँग प्रधानमन्त्री ज्यूसँग पटक पटक भेटघाट हुने गरेको विषयमा जानकार भएपनि लोसपालाई सरकारमा सामेल गराउने विषयमा गठबन्धनमा कुनै छलफल नभएको प्रष्ट पार्नु भयो ।
अध्यक्ष प्रचण्डले अहिले आफूहरूले गरिरहेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमहरू स्थानीय तहको चुनावलाई केन्द्रित गरेर भएको बताउँदै हालसम्म ६ प्रदेश तथा ३ वटा गैर भूगोलको प्रशिक्षण सम्पन्न भएको र दशौं प्रशिक्षणको रुपमा मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम जनकपुरधाममा हुन लागेको जानकारी दिनु भयो ।
जनकपुरधामको ऐतिहासिक तिरहुतीया गाछीमा नेकपा माओवादी केन्द्रको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम हुन लागेको छ । प्रशिक्षणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ सहितका नेताहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको माओवादी केन्द्रका नेता झल्कु यादवले जानकारी दिनु भयो ।







प्रतिक्रिया राख्नुहोस्