नेता पौडेलद्वारा चर्दीखोला मोटरेबल पुलको शिलान्यास

लमजुङ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि राजनीति गर्न नहुने बताउनुभएको छ । देश विकासको सवालमा जनतादेखि राजनीतिक दल, स्थानीय सरकारदेखि सङ्घीय सरकार सबै एकजुट भएर अघि बढेमा विकास निर्माणले ठूलो फड्को मार्ने उहाँको भनाइ छ ।
लमजुङ मध्यनेपाल नगरपालिका–३ सूर्यपाल र वडा नंं ४ चर्दीरम्घा जोड्ने चर्दीखोला मोटरेबलको पुलको आज यहाँ शिलान्यास गर्दै उहाँले गाउँ गाउँबाट रोजगारीका लागि गाउँ छाड्ने क्रम बढेर गाउँघर रित्तिँदै गएकाले गाउँघरमै रोजगारीको सिर्जना गरी गाउँ विस्थापित हुनबाट जोगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन हुनसक्ने धारणा व्यक्त गर्नुभयो ।
एमसिसी सुन्ने बित्तिकै विरोध गर्ने जनताले पनि बिस्तारै देशको हितमा राम्रो नै रहेछ भनेर बल्ल बुझ्न थालेकाले विरोध गर्न छाडेको वरिष्ठ नेता पौडेलले बताउनुभयो । मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले चर्दी खोलामा हालसम्म पनि मोटरेबल पुल नहुँदा बर्खायाममा सवारी साधन सञ्चालन हुन नसक्दा विभिन्न समस्या रहँदै आएको बताउनुभयो । नगरपालिकाको आफ्नै लगानीमा अघि बढेको यस पुलले अब ती समस्याको समाधान गर्ने नगरप्रमुख पाण्डेको भनाइ थियो ।
ब्यास मार्गमा पर्ने सो पुल निर्माण हुन लागेपछि स्थानीय हर्षित भएका छन् । डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरी केबीसीप्रसाद जेबी भरतपुर चितवनले निर्माणको जिम्मा लिएको नगरपालिकाका इन्जिनियर उत्तम सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “२० मिटर लम्बाइ र सात मिटर चौडाइ रहने पुल नगरपालिकाको रु दुई करोड २६ लाख लागतमा सम्पन्न हुनेछ ।”







प्रतिक्रिया राख्नुहोस्