‘एमसीसी सम्बन्धी भ्रमबारे जनतालाई प्रस्ट पार्नु आवश्यक’

बाजुरा । नेपाली काँग्रेसका सह महामन्त्री बद्रीप्रसाद पाण्डेले जनतालाई मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भ्रमबारे प्रस्ट पार्नु आवश्यक रहेको बताउनुभयो ।
नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रित गाउँ अभियान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सह महामन्त्री पाण्डेले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसलाई बहुमत दिन आग्रह समेत गर्नुभयो । उहाँले कम्युनिष्ट पार्टीहरूले सरकार सञ्चालन गर्न नसक्ने बताउनुभयो । उहाँले केपी ओलीको नेतृत्वमा ५ वर्षका लागि सकार चलाउन जनताले अनुमोदन गरेको भए पनि बिचमै संसद्को हत्या गरी लोकतन्त्रलाई छिन्न भिन्न बनाएको भन्नुहुँदै आगामी निर्वाचनमामा स्थानीय तहदेखि केन्द्रसम्म कुनै हालतमा कम्युनिष्टको हातमा नजान दिन नहुने बताउनुभयो ।
केन्द्रीय सदस्य एवम् बाजुरा जिल्ला प्रतिनिधि अर्जुन जङ्गबहादुर सिंहले सदरमुकाम मार्तडीबाट कांग्रेस चुनावी अभियान सुरु गरी जिल्लाका नौ वटै स्थानी तहमा औपचारिक कार्यक्रम गर्ने र जनताको घरघरमा पुगेर जनताको भावना बुझ्दैछौ भन्नुभयो ।

उहाँले जिल्लाका नौ वटै स्थानीय तहमा यही चैत्र ९ गतेसम्म स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रम सम्पन्न गर्ने लक्ष्य रहेको पनि जानकारी गराउनुभयो ।
निवर्तमान पार्टी सभापति कविराज पण्डितले आपसी मनमुटाब गुट उपगुट त्यागेर एकमना भएर कांग्रेस नेता कार्यकर्ता लागेमा आगामी स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले अत्यधिक बहुमतले जित्ने बताउनुभयो ।
उहाँले कांग्रेस एक्लैले चुनावी प्रतिस्पर्धामा भिड्ने वा अन्य दलसँग चुनावी तालमेल गर्ने भन्नेबारे भने अहिले सार्वजनिक गरिहाल्ने अवस्था नरहेको बताउनुभयो ।
”कांग्रेस एक्लै पनि चुनावमा जान सक्छ जनताको चाहना भए अन्य दलसँग तालमेल पनि हुनसक्छ ।” नेता पण्डितले थप्नुभयो ।
पूर्व पार्टी सभापति एवम् महाधिवेशन प्रतिनिधि मनबहादुर रावलले सरकारप्रति नागरिकको अपेक्षा अनि गुनासा सुन्नु, एमसीसीको भ्रम चिर्न र सत्ता गठबन्धनसँग तालमेल गर्ने वा एक्लै भिड्न सकिने अवस्थाबारे स्थलगत अध्ययन गर्न पार्टी कार्यकर्तालाई परिचालन गरेको बताउनुभयो ।
“जिल्लाका ६९ वडामा जिल्ला प्रतिनिधि खटाइएको छ । उक्त अभियानले सकारात्मक नतिजा ल्याउने विश्वास छ ।” नेता रावलले भन्नुभयो ।
आगामी स्थानीय निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेसका नेता कार्यकर्ता बाजुराका गाउँ गाउँ पुगेका छन् ।
गत फागुन २९ गतेदेखि देशव्यापी सुरु भएको काँग्रेसको गाउँ अभियान “घर घर जाऊ, कांग्रेस जिताऊ” भन्ने नेपाली काँग्रेसको राष्ट्रव्यापी नारा बोकेर यति बेला काँग्रेसका नेता कार्यकर्ता बाजुराका दूर दराज गाउँ गाउँ पुगेका हुन ।







प्रतिक्रिया राख्नुहोस्