तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् प्राधिकरणद्वारा थप लगानीका लागि एडिबीलाई आग्रह

काठमाडौँ । सरकारले नेपालको ऊर्जा तथा सिँचाइ क्षेत्रमा देखिएको समस्या समाधान गरी सार्थक निकास दिन तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै थप लगानीका लागि एसियाली विकास बैङ्क (एडिबी)लाई आग्रह गरेको छ ।

ती क्षेत्रमा एडिबीको सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै सरकारले आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा अवस्थालाई सही तवरले समाधान गर्ने विश्वास दिलाएको हो ।

आयोजना विकास गर्दा सामाजिक एवं प्राविधिक विषय सम्बोधन गरेर समयमै सल्टाउनुपर्नेमा जोड दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दिनमा नयाँ योजना पहिचान गरी विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

एडिबीको दक्षिण एसिया विभागका महानिर्देशक किनिची योकोयामा नेतृत्वको प्रतिनिधिमण्डलले जलविद्युत एवं सिँचाइ क्षेत्रका विविध आयोजनाबारे आज ऊर्जा मन्त्रालयमा छलफल गरेको थियो ।

छलफलमा ऊर्जा र सिँचाइ क्षेत्रमा एडिबीको सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै उक्त प्रतिनिधिमण्डलले ती आयोजना कार्यान्वयनको अवस्था एवं नयाँ आयोजनाका सम्भावनाका विविध विषयमा चासो राखेको थियो ।

त्यस अवसरमा मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ क्षेत्रका आयोजनालाई सरकारले विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै आर्थिक विकासका लागि सबैभन्दा महत्त्वपूर्ण विषय कृषि नै भएकाले यस क्षेत्रमा एडिबीको सहयोग आवश्यक रहेको बताउनुभयो ।

एडिबीका दक्षिण एसिया महानिर्देशक योकोयामाले ऊर्जा र सिँचाइ क्षेत्रमा एडिबीको सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै ती क्षेत्रका आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा अवस्थालाई सही तवरले समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button