योजनाको सम्झौताका लागि नआउन नगरपालिकाद्वारा सूचना जारी

बैतडी । बैतडीको मेलौली नगरपालिकाले योजनाहरूको सम्झौताका लागि नआउन सूचना जारी गरेको छ । आन्तरिक श्रोत र राजश्व बाँडफाँडको रकमबाट विनियोजित बजेटको योजना तत्काल सञ्चालन गर्न नसकिने जनाएको नगरपालिकाले छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टद्वारा जारी सूचनामा आन्तरिक श्रोत तथा राजश्व बाँडफाँड अन्तरगत स्वीकृत भएका विकास निर्माणका योजनाहरू श्रोत अभावका कारण सञ्चालन गर्न नसकिने भनिएको छ ।
चालु आर्थिक बर्ष २०७८/०७९ मा बजेट स्वीकृत भएको भएपनी सम्झौता बिना काम नगर्न सूचनामा भनिएको छ । नगरपालिकाका कुनै व्यक्ति वा पदाधिकारीहरूले मौखिक रुपमा काम गर्न भनेमा भुक्तानी नदिइने सूचनामा उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृतको यस कदमका कारण स्थानीय उपभोक्ताहरू मर्कामा परेका छन् भने, नगरप्रमुख नै अचम्मित भएका छन् ।
उपभोक्ता समिति गठन भई काम सम्पन्न समेत गरिसकेका योजनाहरूको भुक्तानी नदिएको सेवाग्राही बताउँछन् । वडा न.५ का भरतसिंह पुजाराले काम सम्पन्न गरेर भुक्तानी नपाएको गुनासो गर्नुभयो । नगरपालिका भवनको ठेक्का पाएका ठेकेदार विनोद विष्टले भुक्तानी नपाएको गुनासो छ । आफूहरू दैनिक भुक्तानीका लागि आउने गरेपनी रित्तो हात फर्किने गरेको उपभोक्ता समिति र ठेकेदारहरू बताइ रहेका छन् ।
प्रमुख प्रशासकीय अधिकृतले निकालेको उक्त सूचनाका विषयमा नगर प्रमुख कृष्णसिंह नायक लगायतका केही जनप्रतिनिधिहरू लाई जानकारी नै छैन । नगर प्रमुख नायकले भन्नुभयो, ‘कसको इसारामा यो सूचना जारी गरियो हामीलाई थाहा छैन । कार्यपालिकाले बनाएको बजेट नगर सभाबाट पास भइसकेपछि के कारणले काम रोक्नुभयो ? किन बढी जान्ने हुनुभयो ? हामी यो विषयमा अनविज्ञ छौँ । जे समस्या हो त्यो विषयमा छलफल गर्नुपर्दथ्यो ।
म सँग कुनै सल्लाह नै भएको छैन मैले त एक जना सेवाग्राहीबाट सूचना बारे जानकारी पाएको हुँ । अब कार्यपालिकाको बैठक बोलाएर समस्या समाधान गर्ने छौँ ।’ स्वीकृत बजेटको सम्झौता गरी काम सञ्चालन गर्नुपर्ने उनको भनाई छ । यसै चैत महिनामा सबै कामकाज सम्पन्न गरिसक्ने लक्ष्य राखेकोमा हाकिमकै कारण ढिलाइ भएको उनको गुनासो छ ।
यता प्रमुख प्रशासकीय अधिकृत भट्टले बजेट घाटाका कारण सम्झौता रोक्का गरेको बताए । उहाँले भन्नुभयो, ‘गत आर्थिक वर्षकै ३ करोड रकम तिर्न बाँकी छ । यस बर्ष झन् ५करोड बजेट छुट्याइएको छ, बजेटको सुनिश्चितता छैन ।
पुरानो तिर्न बाँकी भएका बेला नयाँ करोडौँ रकम कहाँबाट ल्याउने ? आगामी वर्षमा अर्का जनप्रतिनिधि आएमा के गरौँला ? आन्तरिक आम्दानीमा ५४ लाखको लक्ष्य छ, बजेट ५ करोड बढी छुट्याएका छन् । काम गरेपनी भुक्तानीका लागि सुनिश्चित नभएकाले सम्झौता रोक्का गरिएको हो ।’ विगतका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि भट्ट ३ महिना अघि नगरपालिकामा आएका हुन् ।








प्रतिक्रिया राख्नुहोस्