तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन पर्साद्वारा मर्यादित रुपमा होली पर्व मनाउन आग्रह

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले होली पर्व अर्थात् फागु पूर्णिमालाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । 

मधेश प्रदेशमा विशेष गरी भोलि होली पर्व मनाउने परम्परा रहेको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी उमेश ढकालले आज एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छा विपरीत रङ नदल्न आग्रह गर्नुभएको छ । होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उच्छृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो । 

सूचनामा सर्वसाधारणलाई दुःख दिने, इच्छा विपरीत रङ दल्ने, लोला तथा फोहर पदार्थले हान्ने, मादक पदार्थ सेवन गरेर अवाञ्छित क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न भनिएको छ । यसमा राजनीतिक दल, नागरिक समाज, पेशागत सङ्घ संस्था, सञ्चारकर्मी, महिला सञ्जाललगायत सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको सूचनामा भनिएको छ । 

कसैले अवाञ्छित एवं उच्छृङ्खल क्रियाकलाप गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ । यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले सभ्य तरिकाले फागु पूर्णिमा मनाउन आग्रह गर्नु भएको छ । प्रहरीले होली खेल्दा अण्डा, मोबिल, लोला तथा फोहर पानी प्रयोग नगर्न आग्रह गरेको हो । 

यस्तै मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन तथा सवारीसाधन तीव्र गति नचलाउन पनि प्रहरीले आग्रह गरेको छ । 

मोटरसाइकलमा दुई जना भन्दा बढी नचढ्न, अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान, लागुऔषध सेवन नगर्न तथा चर्को आवाज आउने गरी डिजे गीत र बाजा नबजाउन पनि प्रहरीले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button