तपाईँ सुन्दै हुनुहुन्छः

२ हजार ५ सय जनाद्वारा मृत्युपश्चात् अङ्ग दानको घोषणा

भक्तपुर । नेपालमा मृत्युपछिको अङ्ग दानबारे उल्लेख्य उपलब्धि हासिल हुन थालेको छ ।

हालसम्म २ हजार ५ सय जनाले मृत्यु पश्चात् अङ्ग दानको घोषणा गरिसक्नुभएको छ भने करिब ४ सय जनाले मस्तिष्क मृत्यु (ब्रेन डेथ )पश्चात् अङ्ग प्राप्त गरी प्रत्यारोपण गर्नका लागि पर्खाइमा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ ।

सरकारले ब्रेन डेथ भएका व्यक्तिको अङ्ग दान गर्ने व्यवस्था कार्यान्वयनका लागि (एसडीटिसी ) भक्तपुरलाई समन्वय केन्द्र समेत तोकेको छ । अङ्ग दान गर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न भक्तपुरको दूधपाटीस्थित केन्द्रलाई देशैभरको समन्वय केन्द्र तोकेको हो ।

नेपालमा हालसम्म तीन जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट ६ जनाको मिर्गौला र एक जनाको कलेजो प्रत्यारोपण भएको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले बताउनुभयो ।

ब्रेन डेथ भएका व्यक्तिको अङ्ग प्रत्यारोपणबाट बर्सेनि हजारौँ व्यक्तिलाई बचाउने सकिने भए पनि खासै उपलब्धि हासिल हुन नसकिरहेको अवस्थामा यो सम्बन्धी थप काम गर्न केन्द्र स्थापना गरिएको डा.श्रेष्ठले बताउनुभयो ।

मृत्यु पश्चात् आफ्नो शरीरको अङ्ग दान घोषणा गर्नुभएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा गत बिहीबार भएको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री तथा सबै मन्त्रीले मृत्यु पश्चात् अङ्ग दान गर्ने निर्णय भएको थियो । 

सरकारले स्वास्थ्योपचार र मृत्युपछिको अङ्ग दानको सम्बन्धमा ऐतिहासिक निर्णय गरेको छ । ५० वर्षभन्दा माथिका सबै नागरिकको वर्षको एक पटक कलेजो मिर्गौला लगायतको स्वास्थ्य परीक्षण समेत निःशुल्क गर्ने निर्णय गरेको छ ।

नेपालमा बि.स. २०७२ सालमा अङ्ग प्रत्यारोपण ऐन आएको थियो । सो ऐनपछि ब्रेन डेथ भएका व्यक्तिको अङ्ग जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सक्ने कानुन आएको हो । 

अङ्ग प्रत्यारोपण विज्ञ समेत रहेका डा. श्रेष्ठले कुनै पनि व्यक्तिले आफ्नो मृत्युपछि अङ्ग दान गर्न चाहेको अवस्थामा केन्द्रमा सम्पर्क राखेर इच्छा पत्र लिन सक्ने व्यवस्था गरेको बताउनुभयो । 

दुर्घटनामा परी अस्पतालले ब्रेन डेथ भएको घोषणा गरेपछि भक्तपुरको समन्वय एकाइलाई खबर गरेमा केन्द्रले विज्ञ चिकित्सकीय टोलीले ब्रेन डेथ भएको अस्पतालमा गई ब्रेन डेथ भएका व्यक्तिका आफन्त वा नातेदारहरूसँग सल्लाह गरेर उनीहरूको सहमति दिएमा व्यक्तिको अङ्ग निकालेर अङ्ग प्रत्यारोपण आवश्यक भएको जीवित व्यक्तिमा प्रत्यारोपण गर्ने गरिन्छ ।

ट्रान्सप्लान्ट कोर्डिनेटर विभागका संयोजक डा.कल्पना श्रेष्ठका अनुसार नेपालमा हरेक वर्ष तीन हजारभन्दा बढीको बर्सेनि मिर्गौला फेल हुने गरेको सरकारी तथ्याङ्क छ । तर देशभरि मुस्किलले ३ सय जनाको मात्र मिर्गौला प्रत्यारोपण हुन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा वर्षमा करिब दुई हजारभन्दा बढीले सडक दुर्घटनामा परेर ज्यान गुमाउने गरेका छन् । ती मध्ये करिब एक हजारको ब्रेन डेथ हुने गरेको छ । 

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार एक जना ब्रेन डेथ भएको व्यक्तिबाट आठ वटा अङ्ग जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । ब्रेन डेथ भएका व्यक्तिको अङ्ग दानमार्फत प्राप्त हुने अङ्ग जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिए नेपाल अङ्ग प्रत्यारोपणमा आत्म निर्भर हुने डा.श्रेष्ठको दाबी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button