तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा यौन पर्वको रुपमा मनाईन्छ होली

भक्तपुर । देश र भक्तपुर जिल्लाकै अधिकांश भागमा विभिन्न रंग र अबिर दलेर होली मनाईन्छ । कतिपय ठाउँमा त होली आउनु भन्दा अघि नै लोला हान्ने गरेको देख्न सकिन्छ । तर भक्तपुर नगरमा भने अलग र मौलिक किसीमले होली मनाईन्छ ।

दत्तात्रय मन्दिर अघि रहेको भिमसेनको मन्दिरमा रहेको काठबाट बनेको मानव आकारको लिंग अर्थात लग र रातो कपडाले बनाईएको योनी आकारको कपडालाई जुधाएर यौन समागमको संकेत गर्दै होली मनाउने प्रचलन छ ।भक्तपुरमा दत्तात्रय स्थित भिमसेन मन्दिरमा राखिएको काठबाट बनेको लग अर्थात लिंगलाइ फागु शुक्ल पुर्णीमा अघि अष्टमीका दिन टोल–टोलमा घुमाएर सातदिनसम्म मनाईने होली पर्व सुरु हुने गर्दछ ।

लिंगलाई स्थानीयले टोलटोलमा घुमाएर पुन मन्दिरको पाटीमा राखेपछि विधिवत रुपमा होली सूरु भएको मानिन्छ । यसलाई टोलटोलमा रहेको पसलै पिच्छे घुमाएर पुजा गरी पुन पाटीमा ल्याएर झुण्डाए पछि हरेक दिन यसको दर्शन गर्न महिला तथा पुरुष आउने जाने र भेटि चढाएर पुजा गर्ने गर्दछन् ।

होली पर्व सुरु भएपछि फागुन नवमीको दिनमा भिमसेनको लिंगलाई दुई जनाले काधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुदै, दत्तात्रय मन्दिर वरीपरी रहेको घर, पसल पिच्छे लिंग दर्शनका लागि लगिन्छ । लिंगको दर्शन गरेर दक्षिणा दिए व्यापार फस्टाउने धार्मिक विश्वास रहेको स्थानीयबासीको बिश्वास छ ।

बजार घुमाएर ल्याएको लिंग र योनी आकारको प्वाल भएको रातो कपडा भिमसेनको पाटीमा सात दिनसम्म झुण्ड्याउने गरिन्छ । झुन्ड्याएको लिंग हल्लाउदा योनी आकारको कपडाको प्वाल भित्र छिर्ने गर्दछ । यसलाई भिमसेन र द्रौपतीको यौन समागमकोे रुपमा लिइने गरेको संस्कृतिकर्मी बताउँछन् । करीब दुई हात लामो र करीब ३० ईन्च मोटाईको काठबाट बनेको लिंगलाई भक्तपुरका बासिन्दाले भिमसेनको लिङ्ग र कपडाबाट बनेको प्वाललाई द्रौपतीको योनीको रुपमा लिने गरिएको भक्तपुरका संस्कृतिकर्मी ओम धौभडेल बताउनुहुन्छ ।

फागुन शुक्ल पूर्णिमाका दिन भक्तपुरका वासिन्दाले दिनभर रंगको होली खेलेपछि साँझ भक्तपुर तलेजुबाट निकालिएको भगवाण कृष्णको खटलाई नगर परिक्रमा गराउदै दत्तात्रय अगाडिको भिमसेनको मन्दिरबाट ल्याएपछि मन्दिरमा झूण्ड्याएको लिंग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिर स्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा ल्याएर राखेपछि भक्तपुरमा मनाइने होली पर्व सम्पन्न हुने परम्परा रहेको छ ।पाटीमा राखेको काठको लिंग हेर्न आन्तरिक र बाह्य पर्यटकको समेत भिड लाग्ने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button