तपाईँ सुन्दै हुनुहुन्छः

झापामा पहिलो पटक क्रिकेटको सुपर लिग हुने

भद्रपुर, झापा । अक्सनमार्फत खेलाडी छनोट गरी झापा जिल्लामै पहिलो पटक झापा सुपर लिग (जेएसएल) क्रिकेट प्रतियोगिता हुने भएको  छ । 

लर्डबुद्ध क्रिकेट एकेडेमी मेचीनगरको आयोजनामा नयाँ वर्ष २०७९ को अवसर पारी आगामी वैशाख १ गतेदेखि ७ गतेसम्म जेएसएल क्रिकेट प्रतियोगिता हुन लागेको हो । 

एकेडेमीले आज काँकडभिट्टामा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको छ । 

काँकडभिट्टा माविको खेल मैदानमा आयोजना गरिने उक्त प्रतियोगिता सञ्चालनका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने एकेडेमीका अध्यक्ष हिमाल बिकेले जानकारी दिनुभयो । 

प्रतियोगितामा खेलाडी छनोट अक्सनमार्फत हुने र अक्सनको अनलाइन फारम खुलाइसकिएको उहाँले बताउनुभयो । क्रिकेटको व्यावसायिक विकास गर्ने उद्देश्यले यस प्रकारको प्रतियोगिता जिल्लामै पहिलो पटक गर्न लागिएको अध्यक्ष बिकेको भनाइ छ ।

प्रतियोगितामा पाँच टिम सहभागी हुनेछन् । तीमध्ये चार वटा टिमको टुङ्गो लागिसकेको छ । प्रतियोगितामा प्रवीण अग्रवालको धुलाबारी टाइगर्स, अर्पण राईको भद्रपुर राइजिङ किङ्स, सुमन प्रसाईँको विराट वारियर्स र शोभित बाँस्तोलाको बोस्टन इगल्स टिम टुङ्गो बताइएको छ । प्रतियोगितामा प्रत्येक टिमले अक्सनमार्फत राष्ट्रिय स्तरका एक खेलाडी प्रदेश स्तरका दुई खेलाडी र जिल्लाभित्रका बाँकी खेलाडी खरिद गर्नुपर्ने हुन्छ । 

प्रतियोगितामा विजेता टिमलाई नगद २ लाख ११ हजार र उपविजेता टिमलाई नगद १ लाख ११ हजारसहित ट्रफी प्रदान गरिनेछ ।  

प्रतियोगिताको वेस्ट बलरले १० हजार, वेस्ट प्लेयरले १५ हजार, वेस्ट फिल्डरले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार ५ सय प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button