तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई थप सुदृढ एवम् सबल बनाउन आवश्यक : प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई थप सुदृढ एवम् सबल बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिकोत्सवका अवसरमा आज सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षालाई थप सुदृढ बनाउन राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीति कार्यान्वयनमा ल्याइएको बताउनुभएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री देउवाले स्थापना कालदेखि नै सचिवालयले मुलुकको आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको बस्तुनिष्ठ मूल्याङ्कन गरी त्यसको सम्बोधनका लागि सरकारलाई सुझाव दिँदै आएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन एवम् नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्ने दायित्व सुरक्षा परिषद्को रहेको बताउनुभयो ।

सुरक्षा जस्तो महत्त्वपूर्ण र संवेदनशील विषयमा परिषद्ले आफ्नो जिम्मेवारी निष्ठापूर्वक सम्पादन गरेकोमा प्रधानमन्त्री देउवाले प्रसन्नता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले राष्ट्रिय सुरक्षा परिषद्ले मुलुकको आन्तरिक सुरक्षा र प्रतिरक्षा चुनौती जस्ता विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button