बागमती प्रदेश खेलकुद: फुटबलमा भक्तपुर क्वाटर फाइनलमा
मकवानपुर । प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको फुटबल प्रतियोगितामा भक्तपुर क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रङ्गशालामा भएको खेलमा रसुवालाई शून्यका विरुद्ध ६ गोल गर्दै भक्तपुर क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
रसुवालाई फराकिलो गोल अन्तरले पराजित गर्ने क्रममा भक्तपुरका तर्फबाट सोनित दाहाल, अनिक श्रेष्ठ, सविन खड्का र रविन भट्टराईले एक–एक गोल गरे भने यस्तै विपुल श्रेष्ठले दुई गोल गरेका थिए । विपुलले एक गोल पेनाल्टीमार्फत गरेका हुन् । खेलको म्याच अफ द म्याच विपुल श्रेष्ठ घोषित भए । भक्तपुरले अब बिहीबार दोलखासँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत आज नै भएको पहिलो खेलमा सिन्धुलीले काठमाडौँलाई शून्यका विरुद्ध ६ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ ।
प्रतियोगितामा बुधवार दुई वटा खेल हुनेछन् । पहिलो खेल धादिङ र काभ्रेपलान्चोकबिच र दोस्रो खेल सिन्धुली र मकवानपुरबिच हुने खेल संयोजक कल्पना शर्माले बताउनुभयो ।
महिला क्रिकेटमा काठमाडौँ विजयी
यस्तै चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको महिला क्रिकेटतर्फ काठमाडौँ विजेता भएको छ । चितवनलाई ६४ रनले पराजित गर्दै काठमाडौँ प्रथम भएको हो । टस जितेर ब्याटिङ रोजेको काठमाडौँले एक विकेट गुमाएर २० ओभरमा १६२ रन बनाएको थियो । काठमाडौँको तर्फबाट कन्चन श्रेष्ठले ७० र अस्मिता खरेलले ४३ रन बनाउनुभएको थियो ।

जवाफी ब्याटिङमा चितवनले २० ओभरमा ४ विकेट गुमाएर ९८ रन बनायो । भरतपुर महानगरपालिकाका मेयर रेणुकुमारी दाहाल, परिषद् सदस्य सचिव सूर्यलाल भण्डारीले विजेता र उप विजेतालाई प्रमाणपत्र सहित पुरस्कार वितरण गर्नुभएको थियो ।
पुरुष तर्फको खेल भने बुधवार हुनेछ । पहिलो खेल रामेछाप र नुवाकोट र दोस्रो खेल रसुवा र धादिङबिच हुने खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताउनुभयो । पुरुषतर्फ सिन्धुलीले सहभागिता जनाएको छैन ।
ब्याडमिन्टनमा चितवन र धादिङ प्रथम
प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत हेटौँडामा भएको ब्याडमिन्टन प्रतियोगितामा पुरुषतर्फ चितवन प्रथम भएको छ । आज मङ्गलवार भएको फाइनल खेलमा ललितपुरलाई ३–१ अङ्कले हराउँदै चितवन प्रथम भएको हो । यस्तै दोस्रो स्थानमा ललितपुर, तेस्रो स्थानमा धादिङ र सिन्धुली रहेको खेल संयोजक दीपक थापाले बताउनुभयो ।

महिला तर्फ भने धादिङ प्रथम भएको छ । फाइनल खेलमा सिन्धुपाल्चोकलाई ३–२ अङ्कले पराजित गर्दै प्रथम भएको हो । त्यस्तै, दोस्रो स्थान सिन्धुपाल्चोक, तेस्रो स्थान ललितपुर र नुवाकोट भएको ब्याडमिन्टन अफिसियल राम विनय श्रेष्ठले बताउनुभयो । ब्याडमिन्टन टिम इभेन्टको आधारमा खेलाइएको थियो ।
प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, मन्त्रालयका सचिव, परिषद्का सदस्य सचिव लगायतले मेडल, प्रमाण र नगद सहित पुरस्कृत गरिएको थियो । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २४ हजार र १८ हजार प्राप्त गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्