तपाईँ सुन्दै हुनुहुन्छः

प्रजनन स्वास्थ्य शिविरबाट ५ सय भन्दा बढीलाई सेवा प्रदान

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा सञ्चालित प्रजनन स्वास्थ्य शिविरबाट ५०९ जनालाई सेवा प्रदान गरिएको छ ।

बेलौरी नगरपालिका कार्यालयको समन्वय र स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा शुक्रवार र शनिबार छुट्टाछुट्टै स्थानहरूमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरी निःशुल्क सेवा प्रदान गरिएको बेलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बेलौरी नगरपालिका वडा नम्बर ३ बुटावारीस्थित श्री सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रवार सञ्चालित प्रजनन स्वास्थ्य शिविरबाट २५५ जनाले सेवा लिनुभएको छ ।

त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर ९ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा शनिबार सञ्चालित प्रजनन स्वास्थ्य शिविरबाट २५४ जनाले सेवा लिनुभएको स्वास्थ्य कार्यालय कञ्चनपुरका परिवार नियोजन अधिकृत कपिलदेव जोशीलाई उद्धृत गर्दै स्वास्थ्य शाखा प्रमुख बोहराले बताउनुभयो ।

शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा बिरामीको चेकजाँच, निदान, उपचार तथा प्रेषण सेवा, पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग, गर्भवतीहरूको चेकजाँच तथा भिडियो एक्स–रे सेवा, पाठेघर खसेका महिलाहरूको स्क्रिनिंग तथा रिङ पेसरी राख्ने कार्य, परिवार नियोजनका लामो अवधिका अस्थायी साधन (इम्प्लाण्ट, आई.यु.सी.डी.) राख्ने कार्य, महिलाहरूमा तल्लो पेट दुख्ने, चिलाउने, सेतो पानी बग्ने समस्याको उपचार, यौन रोगको उपचार, एचआइभी परीक्षण तथा परामर्श र निःशुल्क औषधी सेवा प्रदान गरिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button