तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषध दुर्व्यसनी विरुद्धको अभियानमा जुम्ला प्रहरी

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषध दुर्व्यसनी विरुद्ध प्रहरी अभियान थालेको छ । सडकको विकाससँगै लागु औषध दुर्व्यसनीको प्रयोग बढ्दै गएपछि प्रहरीले सचेतना अभियान थालेको हो ।

विभिन्न माध्यमबाट लागु औषध ओसार पसार हुन थालेपछि कुलतमा फस्ने युवाहरू दैनिक बढ्दै गएका छन् । अभिभावकको निगरानीको कमीले युवायुवती कुलतमा फस्दै गएकोले जिल्लाका विद्यालयमा प्रहरीले सचेतना अभियान थालिएको डिएसपी नरेन्द्र चन्दले बताउनुभयो ।

यसैबीच शुक्रवार जिल्ला प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा कर्णाली प्राविधिक शिक्षालय जुम्लामा लागु औषध तथा दुर्व्यसनी, महिला हिंसा, साइबर अपराध विरुद्ध सचेतना तथा मुलुकी अपराध संहिता २०७४, का कानुनी प्रावधान, बालविवाह, महिला हिंसा विरुद्ध कसुरका विषयमा अभिमुखीकरण गरिएको छ ।

प्रहरीको अगुवाइमा जिल्लाका सम्पुर्ण विद्यालयमा सचेतना कार्यक्रम गरिने जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यौवनकुमार चौधरीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि सुरक्षा संयन्त्र मजबुत रहेको बताउनुभयो । प्रविधिको दुरुपयोग, सडक सञ्जालको विकासले लागु औषध दुर्व्यसनी बढेकोले नाकामा कडाइ देखि प्रहरी निगरानीलाई बढाइने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button