सबै नागरिकको पहुँचमा रेडियो नेपालको प्रसारण पहुँच पुर्याउनुपर्छ : सचिव डा. अर्याल

सुर्खेत । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) सञ्चालक समितिका अध्यक्ष डा. वैकुण्ठ अर्यालले आज रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतको अनुगमन निरीक्षण गर्नुभएको छ ।
अनुगमनका क्रममा सचिव डा. अर्यालले रेडियो नेपालको हर्रे चमेरेमा रहेको एफ.एम.रिले स्टेसनको प्रसारण क्षमता वृद्धिका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

उहाँले साबिक कर्णाली अञ्चलका पाँच वटै जिल्लामा रहेका एफ.एम.रिले स्टेसनको प्रसारणलाई गुणस्तरीय बनाई सबै स्थानीयको पहुँचमा रेडियो नेपालको प्रसारण पुर्याउनका लागि आवश्यक क्षमता बढाउन आफूले पहल गर्ने बताउनुभयो ।
उहाँले प्रादेशिक प्रसारण कार्यालय सुर्खेतले यस प्रदेशका लोक गीत सङ्गीत तथा संस्कृति संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने किसिमका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
सचिव डा.अर्यालले यस प्रादेशिक प्रसारण कार्यालय र यस मातहतका एफ.एम.रिले स्टेसनमा कार्यरत कर्मचारीहरूलाई दत्तचित्त भएर आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन पनि दिनुभयो ।

प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख आनन्द विश्व पन्तले कार्यालयको आर्थिक, प्राविधिक, सुरक्षा, कार्यक्रम, व्यापार लगायत विषयमा सचिव डा. अर्याललाई जानकारी गराउनुभयो ।
सचिव डा. अर्यालले आजै हुलाक निर्देशनालय सुर्खेत, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत र नेपाल टेलिकमको जिल्ला कार्यालय सुर्खेतको निरीक्षण भ्रमण गर्नुभएको थियो ।









प्रतिक्रिया राख्नुहोस्