मध्यमा मिथिला परिक्रमाका तीर्थयात्रीहरू धनुषाधाममा

जनकपुरधाम । १५ दिने मध्यमा मिथिला परिक्रमाका तीर्थयात्रीहरू धनुषाको प्रसिद्ध धार्मिक तीर्थस्थल धनुषाधाम आइपुगेको छ ।
धनुषाकै पर्वताबाट मिथिला विहारी अर्थात् भगवान् राम तथा किशोरी जी अर्थात् माता जानकीको डोलासँगै परिक्रमाका तीर्थयात्रीहरू धनुषाधाम आइपुगेको छ ।
धनुषाधाम आइपुग्दा धनुषाधाम नगरपालिकाका प्रमुख वालेश्वर मण्डलसहितका जनप्रतिनिधिहरूले परिक्रमाका तीर्थयात्रीहरूलाई स्वागत गर्नुभएको थियो । धनुषाका प्रसिद्ध धार्मिक तीर्थस्थल धनुषाधाममा विश्राम गरेपछि भोलि आइतबार धनुषाको अर्को धार्मिक स्थल सतोखरका लागि प्रस्थान गर्नेछ ।
फाल्गुण शुक्ल पक्ष प्रतिपदा तिथिबाट जनकपुरधामको हनुमान गढीबाट सुरु भएको मध्यमा मिथिला परिक्रमाका तीर्थयात्रीहरू भारतको विभिन्न धार्मिक स्थलहरूमा विश्राम गर्दै महोत्तरीको मटिहानी, जलेश्वर, ध्रुव कुण्ड, कञ्चनवन, धनुषाको पर्वता हुँदै आज धनुषाधाम आइपुगेको छ ।
धनुषाका प्रसिद्ध धार्मिक स्थल धनुषाधाममा त्रेता युगमा राजर्षि जनकको प्रतिज्ञा पुरा गर्नका लागि भगवान् शिवको पिनाक धनुषमा अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र भगवान् श्रीरामले प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएकोमा एक टुक्रा धनुषाधाममा खसेको धार्मिक मान्यता रहेको छ ।
नेपाल भारतको १ सय ३३ किलोमिटरको दूरी परिक्रमाका तीर्थयात्रीहरू खाली खुट्टा भजन कीर्तनसहित १५ दिन लगाएर तय गर्ने गर्दछ । फागु पूर्णिमाभन्दा एक दिन अगाडी जनकपुरधामको आएर विश्राम गरेर भोलिपल्ट पञ्चकोशी अन्तर गृह परिक्रमा सकेर घर फर्केपछि तराई मधेसका जिल्लाहरूमा होली खेल्ने चलन रहेको छ ।
परिवारजनको कल्याण, सुखशान्ति तथा समृद्धि तथा मोक्ष प्राप्तिको कामनासहित परिक्रममा लाखौँ व्यक्तिहरू सहभागी हुने गरेकाले यसलाई मिथिलाको महाकुम्भ भन्ने चलन रहेको छ ।
परिक्रममा सहभागी हुनका लागि नेपाल भारतको विभिन्न भागहरूबाट भारी सङ्ख्यामा तीर्थयात्रीहरू यस पटक आएका छन् ।







प्रतिक्रिया राख्नुहोस्