मकवानपुर गढीका सबै वडा एकसाथ बालमैत्री घोषणा
मकवानपुर । मकवानपुरको मकवानपुर गढी गाउँपालिकाका सबै वडाहरू शुक्रवार (आज) बालमैत्री घोषणा भएका छन् । गाउँपालिकाले अनुगमन र मूल्याङ्कनपछि कार्यपालिकाको बैठक बसेर सबै वडालाई बालमैत्री घोषणा गरेको हो ।

आगामी चैत्र १२ गते बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारीमा रहेको गाउँपालिकाले आज सबै वडामा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर एकसाथ बालमैत्री वडा घोषणा गरेको हो ।
बालमैत्री गाउँपालिका घोषणाको लागि आवश्यक सबै सूचकहरू शतप्रतिशत पुगेर घोषणाको अन्तिम चरणमा पुगेकोले पहिला वडाहरूलाई घोषणा गरिएको र आगामी चैत्र १२ गते गाउँपालिकालाई नै बालमैत्री घोषणा गरिने गाउँपालिका अध्यक्ष विदुर हुमागाईँले जानकारी दिनुभयो ।
बालमैत्री घोषणा कार्यक्रमका संयोजक रामप्रसाद दाहालले जानकारी दिए । दाहालका अनुसार बुधवार अन्तिम सूचक मापन तथा बालमैत्री दिगोपनाको रणनीतिक योजना निर्माण गर्ने कार्यशाला सम्पन्न गरेर शुक्रवार वडाहरू घोषणा गरिएको हो । वडाहरूलाई बाल विवाह मुक्त, निकृष्ट बालश्रम मुक्त वडा घोषणा पश्चात् बालमैत्री सुनिश्चित गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीका अनुसार वडाहरू घोषणा भएसँगै गाउँपालिका घोषणा गर्न भने सबै सूचकहरू जिल्ला समन्वय समिति र बागमती प्रदेश सरकारबाट अनुगमन, मूल्याङ्कन हुने र चैत्र १२ गते शनिबार बृहत् कार्यक्रमको आयोजना गरी बालमैत्री गाउँपालिका घोषणा गरिने छ । माथिल्लो निकायले सूचकहरूको प्रतिवेदन ठिक छ भने पछि मात्र गाउँपालिका घोषणा गरिने उहाँले बताउनुभयो । गाउँपालिकाले बालमैत्री घोषणा गर्नुभन्दा अघि पञ्चवर्षीय दिगोपना राख्न रणनीतिक योजना समेत बनाइसकेको पुडासैनीले जानकारी दिनुभयो ।
गाउँपालिकाले २०७८ मङ्सिरमा नै घोषणा गर्ने तयारी गरेको भए पनि कोरोना महामारीका कारण केही ढिला भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणा निर्देशिका २०७८ मा रही ५१ वटा सूचकमा रहेर काम गरेको थियो ।
५१ वटा सूचकहरूमा बाँच्न पाउने अधिकारमा १४ वटा, संरक्षणको अधिकारमा १० वटा, विकासको अधिकारमा ६ वटा, सहभागिताको अधिकारमा ६ वटा र संस्थागत सूचकमा १५ वटा रहेका छन् । बालमैत्री घोषणा गर्ने नेपालको गाउँपालिका मध्ये मकवानपुर गढी गाउँपालिका चौथो, बागमती प्रदेश र मकवानपुर जिल्लामा भने तेस्रो हुने छ ।







प्रतिक्रिया राख्नुहोस्