श्रीलङ्का संयुक्त–११ विरुद्ध नेपाल पराजित
काठमाडौँ । श्रीलङ्काका स्टार खेलाडी सम्मीलित श्रीलङ्का संयुक्त–११ विरुद्ध नेपाल पराजित भएको छ ।
श्रीलङ्का भ्रमणमा रहेको नेपाल आफ्नो अन्तिम अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ सँग ९२ रनले पराजित भएको हो । २ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर २ बलमा १ सय ४० रन बनाउँदा अल आउट भयो । नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए ।
धराशायी बनेको नेपालको इनिङलाई मल्लले उकास्ने प्रयास गरेका थिए । मल्ल आउट भएसँगै नेपाल पुनः कमजोर बनेको थियो ।
कुशल भुर्तेलले ३२ रन बनाउँदा रोहित कुमार पौडेलले २१ रनको योगदान गरे । यस्तै आरिफ शेखले १३, सोमपाल कामीले ८, आसिफ शेखले ५, दीपेन्द्र सिंह ऐरीले २ रन, विनोद भण्डारी र सगर ढकालले समान १/१ रन बनाउँदा विक्रम सोब डक आउट भए । सन्दीप लामिछाने भने खाता नखोली अविजित रहे ।
टस जितेर ब्याटिङ गरेको श्रीलङ्का संयुक्त–११ ले ४८ ओभर २ बलमा २ सय ३२ रन बनाउँदा अल आउट भयो । नेपालको लागि दीपेन्द्र सिंह ऐरी र सगर ढकालले समा ३/३ विकेट लिए । यस्तै सोमपाल कामीले २ विकेट, सन्दीप लामिछाने र आरिफ शेखले समान १/१ विकेट लिए ।
यसअघि नेपालले खेलेको तीन अभ्यास खेलमा सहज जित हात पारेको थियो । नेपालले यसअघि श्रीलङ्का पुलिस र श्रीलङ्का नेभीसंग अभ्यास खेल खेलेको थियो । नेपालले आइसिसी विश्वकप लिग दुई अन्तर्गतको सिरिजको लागि तयारी स्वरूप श्रीलङ्का भ्रमण गरेको हो ।
नेपालले आगामी इसिरिज युएईमा खेल्दै छ । अब नेपाली टोली श्रीलङ्काबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छन् । नेपालले लिग दुई अन्तर्गतको आफ्नो तेस्रो सिरिजमा युएई र पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्