स्थानीय तहको निर्वाचनमा केन्द्रित रहन सभापति बलायरको निर्देशन

धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टीका सबै नेता कार्यकर्ताले स्थानीय तहको निर्वाचनमा केन्द्रित रहनुपर्ने बताउनुभएको छ ।
आज धनगढीमा काँग्रेस कैलाली बिपी स्मृति भवनको उद्घाटन गर्दै सभापति बलायरले निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा नगर्न र पार्टीको विधि, विधान, नीति अनुरूप एकताबद्ध भएर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
“स्थानीय तहको निर्वाचन हुन्छ, नभए सङ्घीय निर्वाचन हुन्छ, जसरी पनि निर्वाचन हुन्छ, त्यसैले अहिलेदेखि आफ्नै क्षेत्रमा केन्द्रित रहनुहोस्, सरकार बनाउन एक मतको समेत महत्त्व रहन्छ, काँग्रेस नरहे देश रहँदैन, त्यसैले सबै निर्वाचनमा लाग्नोस्” , सभापति बलायरले भन्नुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिताबारे सत्ता गठबन्धनका शीर्ष नेतासँग छलफल भएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एस अध्यक्ष माधव कुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग एक साथ भएको छलफलमा आफूले मन्त्रीमण्डलका सम्बन्धमा भनेको र उहाँ (दाहाल र नेपाल)ले केही दिन पर्खन भनेको उहाँले बताउनुभयो ।
सभापति बलायरले कम्युनिष्टहरु जति बेला पनि एक ठाउँमा उभिन सक्ने भन्दै काँग्रेसलाई स्थानीय तहको निर्वचनमा बलियो बनाएर लैजानु पर्ने बताउनुभयो ।
एमसिसी विकास परियोजना भएको उल्लेख गर्दै उहाँले अनुदान प्राप्त एमसिसीबारे यथार्थ जनतालाई बुझाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा काँग्रेसका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्