माओवादी केन्द्रीय समिति बैठक राष्ट्रिय सभागृहमा जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आजदेखि सुरु भएको केन्द्रीय समिति बैठक काठमाडौँस्थित राष्ट्रिय सभागृहमा जारी छ ।
तीन दिनसम्म चल्ने केन्द्रिय समिति बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरूको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन र पदाधिकारी चयन लगायत विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
बैठकमा आज पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिका विषयमा रिपोर्टिङ गर्नुका साथै अमेरिकी सहयोग सम्झौता एमसीसीको सम्बन्धमा समीक्षा हुनेछ ।
बैठकमा केन्द्रीय सदस्यहरूको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन, पदाधिकारी चयनका साथै कार्य विभाजनका विषयमा समेत छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
पार्टीको आठौँ महाधिवेशनले अनुमोदन गरेको विधान अनुसार २ सय ९९ सदस्यीय केन्द्रीय रहने व्यवस्था गरे पनि ६३ जना केन्द्रीय सदस्यको मनोनीत गर्न बाँकी छ ।
गत पुसमा भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले चयन गरेको केन्द्रीय सदस्यहरूको पहिलो बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निरन्तरता दिने निर्णय लिए पनि अन्य पदाधिकारी टुङ्गो भने लगाइसकेको छैन ।
माओवादी केन्द्रको विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।








प्रतिक्रिया राख्नुहोस्