एमसीसी नेपालको विकास गर्ने परियोजना हो : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको विकास गर्ने परियोजना भएको दाबी गर्नुभएको छ ।
तनहुँ खैरेनीटारमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै एमसीसीलाई लिएर जनस्तरमा नकारात्मक धारण बढ्दै जान थालेको भन्दै काँग्रेसका जिम्मेवार नेताहरूले बुझाउन नसकेकोमा समेत उहाँले गुनासो गर्नुभयो ।
“मैले देउवा जीलाई पनि भनेको छु, संसद्मा पास गर्न खोजेर मात्र हैन यस कारण एमसीसी राष्ट्रवादी छ भन्ने बुझाउन पर्यो”, उहाँले भन्नुभयो “सत्तामा हुँदा कम्युनिष्ट पार्टीका नेताहरूले एमसीसीको लाभ लिइसकेका छन्, अहिले आएर पास गर्न हुन्न भन्न मिल्छ ?”
उहाँले एमसीसी पारित गर्ने पक्षमा गठबन्धनमा आबद्ध दलहरूको सहकार्य स्पष्ट हुनुपर्नेमा पनि जोड दिनुभयो । एमसीसी बारे सिर्जित भ्रम चिरेर नागरिक स्तरमा सकारात्मक रहेको सन्देश फैलाउन आवश्यक रहेको भन्दै उहाँले नेता कार्यकर्ताहरूलाई सोही अनुसार पक्षमा प्रचार गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य शङ्कर भण्डारी, प्रदीप पौडेल, धुर्व वाग्ले, जिल्ला कार्य समितिका सभापति जितप्रकाश आले, संविधानसभा सदस्य झुलबहादुर आले, महासमिति सदस्य मायादेवी राना आले, प्रदेश निर्वाचन क्षेत्र १ का सभापति श्याम मौराती लगायतले पार्टीलाई स्थानीय तहमा बलियो बनाएर लैजानुपर्नेमा सुझाव दिनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्