तपाईँ सुन्दै हुनुहुन्छः

नमूना विद्यालयको निर्माण कार्य अन्तिम चरणमा

सिन्धुपाल्चोक । नमूना विद्यालय बनाउने उद्देश्यले सुरु गरिएको सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित थाङपाल भ्याली माध्यमिक विद्यालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

पालिकाभित्र रहेको २ माध्यमिक र २ आधारभूत विद्यालयलाई मर्ज गरेर वृहत् विद्यालयको रुपमा सञ्चालन हुने थाङपाल भ्याली माध्यमिक विद्यालय बागमती प्रदेशकै दोस्रो नमूना विद्यालय हुने छ ।

एडिबीको २४ करोड आर्थिक सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका वडा न ४ थाङपालकोटमा बन्दै गरेको यो विद्यालयका लागि ५ वटा सुविधा सम्पन्न भवन निर्माण कार्य सम्पन्न भइसकेको छ ।

रैथानेश्वरी मावि, चिलाउने मावि, टालटुलेश्वर आधारभूत विद्यालय र तीन कन्या आधारभूत विद्यालय मर्ज गरेर निर्माण थालिएको यो विद्यालय कक्षा १२ सम्म सञ्चालन हुने पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा कम्प्युटर ल्याब, होस्टेल, क्यान्टिन र स्कुल बसको समेत व्यवस्था हुने छ ।

जिल्लाकै विकट पाँचपोखरी थाङपाल गाउँपालिकामा निर्माण हुँदै गरेको विद्यालयले समय सापेक्ष शिक्षा प्रणालीमा ग्रामीण भेगका विद्यार्थीको पहुँच पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाको भनाई छ ।

समय सापेक्ष शिक्षा प्रवाह गर्न नसक्दा विद्यार्थीहरू शहर केन्द्रित भइरहेको अवस्थामा सुविधा सम्पन्न विद्यालय निर्माणले शहर केन्द्रित विद्यार्थीहरू गाउँ फर्कने विश्वास अध्यक्ष सापकोटाको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button