राज्यले लोपोन्मुख जातिमा सूचिकृत नगरेको प्रति गोआर जातिको दुखेसो
बर्दिया । बर्दियाको गुलरियामा रहेको गोआर बन्जारा जातीले गोआर बन्जारा जातीलाई लोपोन्मुख जातीमा समावेश गर्नु पर्ने माग गरेका छन् । वर्षौदेखि बर्दियाको गुलरीया नगरपालिकाको वडा न १ र ३ मा बसोबास गर्दै आएका गोआर बन्जारा जातीको आफ्नो छुट्टै मातृभाषा, परम्परा र रीतिरिवाज रहेको छ । आफ्नै सामाजिक परम्परा र छुट्टै इतिहास भएको गोआर बन्जारा जातिलाई राज्यले लोपोन्मुख जातिमा सूचीकृत नगरेको प्रति गोआर जातिले दुखेसो पोखेका छन् ।
२०७४ सालमा जिल्ला प्रशासन कार्यालय बर्दियामा नेपाल गोआर बन्जारा सङ्घ गुलरिया बर्दिया नामको संस्था दर्ता गराइ पटक पटक सरकारलाई माग पत्र बुझाउँदा पनि आफ्नो समस्या समाधान नभए गोआर बन्जारा समुदायका अध्यक्ष हुकुम सिंह बन्जाराले बताउनुभयो । देशभरमै आफ्नो समुदाय १ प्रतिशत भन्दा पनि कम भएकोले आफ्नो गोआर बन्जारा जातिलाई लोपोन्मुख जातीमा समावेश गराउन हाम्रो समुदायले माग गरेको उहाँ बताउनु हुन्छ ।
नेपालमा गोआर बन्जार जाति ११ सय ५२ जना मात्र रहेका छन् । जसमा पुरुष ६ सय १५ जना र महिला ५ सय ३६ जना रहेका छन् । गुलरिया नगरपालिका वडा नं. १ मा ३ सय ८० पुरुष र ३ सय ४६ महिला त्यस्तै वडा नं. ३ मा २ सय ३५ पुरुष र १ सय ९१ जना महिला रहेका छन् ।
चार पटक सम्म ज्ञापन पत्र बुझाउँदा पनि कुनै पनि सुनुवाइ नभएको, आफ्नो समुदायमा ९८ प्रतिशत व्यक्ति अनपढ रहेको, दस्तखत गर्न नजान्ने, औँठा छाप रहेको हुँदा आफ्नो सुनुवाइ नभएको स्थानीय बलवन्त सिंह बन्जारा बताउनु हुन्छ ।
बालबालिका को भविष्य छैन, सानै उमेरमा मजदुरी गर्न बाध्य छन् । अशिक्षित समाज, महिलाहरूको घुम्टो प्रथाले गर्दा यस समाजको कहिले प्रगति हुने यस प्रति आफूहरू निकै चिन्तित भएको गोआर समुदायकी अनिता बन्जाराले बताइन । अशिक्षाकै कारण आफूहरू घुम्टो ओढ्न बाध्य छौ उनी बताउँछिन् ।
विगतका वर्षहरूमा पहिले व्यापार व्यवसाय गर्ने, गाउने बजाउने, एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गर्ने बन्जारा जाति अहिले खेती तथा मजदुरी पेशा गरेर आफ्नो जीविका चलाउँदै आएका छन् । सामाजिक तथा आर्थिक रुपमा पछि परेका गोआर बन्जारा जातिलाई लोपोन्मुख जातिमा सूचीकृत गरी राज्यबाट पाउने सेवा सुविधा पाए आफ्नो समुदाय केही अघि बढ्ने उनीहरूले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्