वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ : मन्त्री आले

भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताउनुभएको छ ।
आज उक्त विमानस्थल निरीक्षणका लागि भैरहवा आइपुग्नुभएका उहाँले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुने बताउनुभएको हो ।
मन्त्री आलेले भन्नुभयो, “हामी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा छौँ, अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुनेछ ।”
भारतसँग सिधा मार्गको अनुमतिका लागि पहल भइरहेको जानकारी दिँदै उहाँले केही महिना पहिले आफू भारत भ्रमणका गएका बेला त्यहाँका नागरिक उड्डयन मन्त्रीसँग सिधा उडान अनुमतिका माग गरेकामा त्यहाँका मन्त्री सकारात्मक देखिनुभएकाले सो समस्या चाँडै समाधान हुने उल्लेख गर्नुभयो ।
यो विमानस्थल देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए काठमाडौँमा एरट्राफिकको समस्या समाधान हुनेमा जोड दिँदै मन्त्री आलेले भन्नुभयो, “भैरहवा नजिकै शान्तिका दूत गौतमबद्धको जन्मस्थल लुम्बिनी पनि भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए हजारौँ बौद्धमार्गीका साथै लाखौँ पर्यटक भित्रिन सक्ने सम्भावना छ, त्यसका लागि यो विमानस्थल सञ्चालन हुनु जरुरी छ ।”
यो विमानस्थल सुरु भए यहाँका नागरिकले विदेश यात्रामा जानका लागि काठमाडौँ जाने समस्या पनि समाधान हुने उहाँको भनाइ थियो । रासस







प्रतिक्रिया राख्नुहोस्