नशा तथा हाडजोर्नी विशेषज्ञको दुई दिने राष्ट्रिय सम्मेलन शुरु

चितवन । देशभरका नशा तथा हाडजोर्नी विशेषज्ञहरू (अर्थाेपेडिक सर्जन) को दुई दिने राष्ट्रिय सम्मेलन शुरु भएको छ । देशभरका पाँच सयभन्दा बढी सर्जनहरूको भौतिक तथा अनलाइन उपस्थितिमा हुने सम्मेलनले यस क्षेत्रमा भएका उल्लेखनीय उपलब्धिहरूबारे खोज अनुसन्धान र ज्ञान साटासाट गर्ने छ ।
नेपाल अर्थाेपेडिक एसोसिएसनको २७ औँ वार्षिक सम्मेलनमा सात जना विदेशी सहित एक सय भन्दा बढी विशेषज्ञहरूले अनुसन्धान र शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कोभिडका कारण ९० जना हाराहारी अर्थाेपेडिक सर्जनहरू यहाँ सहभागी हुनुहुन्छ भने पाँच सय हाराहारी स्वदेश र विदेशका सर्जनहरू अनलाइन जुममार्फत् कार्यक्रममा सहभागी भइरहनु भएको प्रोफेसर डाक्टर सुरेश पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार हाडजोर्नी क्षेत्रमा भएको प्रविधिको विकास, उपलब्धता तथा समस्या र चुनौतीका बारे छलफल तथा अन्तर्क्रिया हुनेछ ।
कार्यक्रमका उद्घाटन समारोहमा एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा.डा.रविन्द्रलाल प्रधान, पूर्व अध्यक्ष डा. दिपक महरा, केन्द्रीय महासचिव डा. विनोद श्रेष्ठ, साईन्टिफिक कमिटीका संयोजक डा. शैलज रन्जितकार, आयोजक समितिका अध्यक्ष एवं एसोसिएसनका चितवन अध्यक्ष डा. सुरेश पाण्डे, आयोजक समितिका सदस्य सचिव डा. प्रमोद लामिछाने लगायतले नशा तथा हाड जोर्नीका विषयको अवस्था र नवीनतम प्रविधिको बारे प्रकाश पार्नुभएको भएको थियो ।

संस्थाका सदस्य सचिव डाक्टर लामिछानेले यस सम्मेलनले विदेशका प्रविधि र खोज अनुसन्धान प्रवर्द्धन गर्न सहयोग पुग्ने बताउनुभयो । अनुसन्धानबाट पत्ता लागेका निष्कर्ष र सोधपत्रहरुको प्रस्तुतीकरण र अन्तर्क्रियाबाट यस क्षेत्रलाई सेवामुखी र व्यावसायिक सफलता मिल्ने उहाँको भनाई छ । चिकित्सकहरूलाई आउँदा दिनमा काम गर्न सहयोग पुग्ने लामिछानेको भनाई छ ।
एसोसिएसनका चितवन जिल्ला अध्यक्ष डा. पाण्डेले चितवनमा मात्रै ४५ जना अर्थाेपेडिक सर्जन रहेको जानकारी दिँदै २० जना विशेषज्ञ रहेको बताउनुभयो । उहाँले नेपालमा ५६० जना दर्ता भएका अर्थाेपेडिक सर्जन रहेको र पछिल्लो समय यस विधातर्फ विद्यार्थीहरूको आकर्षण बढ्दै गएको बताउनु भयो
सम्मेलनमा यस क्षेत्रका नीतिगत समस्याका बारेमा छलफल गरी नीति निर्माण तहमा सुझाव समेत दिइने डा. पाण्डेले जानकारी दिनुभयो । सो अवसरमा प्रा.डा. पाण्डेको टेक्स बुक अफ अर्थोपेडिक को विमोचन गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्