तपाईँ सुन्दै हुनुहुन्छः

प्रणय दिवसमा ‘ट्वाइलेट चेयर’ उपहार

तनहुँ । सामान्यतया मन परेका व्यक्तिलाई प्रेम व्यक्त गरेर प्रणय दिवस मनाउने प्रचलन नेपाली समुदायमा बाक्लिँदै गएको छ ।

जीवन साथी  वा प्रेमी/प्रेमिकाप्रति यो दिन माया दर्शाउने गरेको उदाहरण धेरै देखिए पनि अन्य नातामा यो दिन प्रेम व्यक्त गरिएको कमै देखिन्छ । 

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष मनराज गुरुङले भने वडा भित्र वर्षौँदेखि शौच कार्य गर्न समस्या भएकाहरूलाई ‘ट्वाइलेट चेयर’ उपहार दिएर यो दिवस मनाउनुभएको छ । 

वडाका नागरिकहरूको समस्या पहिचान गरेर योजना ल्याउन आफूलाई सक्षम प्रमाणित गर्नुभएका वडाध्यक्ष गुरुङको यो कार्यले लामो समयदेखि उठेरै दिसा पिसाब गर्नुपर्ने बाध्यता भोगेका बृद्धबृद्धाहरुले राहतको महसुस गरेका छन् ।

प्रणय दिवसमा अवसरमा वडाध्यक्ष गुरुङले वडाका तीन गाउँमा स्वयं पुगेर २१ जनालाई उपहार स्वरूप ‘ट्वाइलेट चेयर’ प्रदान गर्नुभयो । अन्य समस्याग्रस्त नागरिकलाई पनि कार्यक्रम मार्फत समेट्ने उहाँले बताउनुभयो । 

वृद्ध अवस्थामा वर्षौँदेखि कष्टकर रुपमा उठेर दिसा पिसाब गर्नुपर्ने बाध्यता भोगेकाहरूले अब सहज हुने विश्वास लिएका छन् । वडाध्यक्षलाई धन्यवाद दिँदै वृद्धाहरूले समस्याबाट मुक्त गराउन पहल गरेको भन्दै खुसी व्यक्त गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button