तपाईँ सुन्दै हुनुहुन्छः

आयोगले आइतबारबाट स्थानीय तहको निर्वाचन र आयोगका गतिविधिबारे दैनिक ‘प्रेस ब्रिफिङ’ गर्ने

File Photo

काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई  जानकारी  गराउने भएको छ ।

कान्तिपथस्थित आयोग परिसरको  मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न ४ः०० बजे प्रवक्ता– सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ । 

निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्बन्धित अन्य विषयमा आमसञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले “प्रेस मिट” गर्न लागिएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो ।  

स्थानीय तहको निर्वाचन यसअघि नै आगामी वैशाख ३० गतेका लागि घोषणा भइसकेको छ ।

दैनिकरुपमा सञ्चारमाध्यममार्फत सम्पूर्ण नेपालीलाई निर्वाचन गतिविधि अद्यावधिक गरी निर्वाचन वातावरण बनाउन आयोगलाई सहयोग गर्ने हेतुले प्रवक्ता सञ्चारकर्मी भेटघाट राखिएको उहाँले बताउनुभयो । दैनिक रुपमा हुने  प्रेस मीटले निर्वाचन सम्बन्धमा आउन सक्ने भ्रमपूर्ण विषयवस्तुलाई चिर्न समेत सहयोग पुग्नेछ ।

दैनिक प्रेस ब्रिफिङबाट समयको सही उपयोगका साथै सूचना प्राप्त गर्ने विषयमा हुन सक्ने अलमल अन्त्य हुने आयोगले विश्वास लिएको छ ।  

निर्वाचनसँग सम्बन्धित सबै समाचार र सूचना तोकिएको समयमा एकै स्थानबाट सहज रुपमा उपलब्ध हुने जनाउँदै आयोगले दैनिकरुपमा हुने  प्रेस मिटमा उपस्थितिका लागि सबै सञ्चार गृह र सञ्चारकर्मीलाई आग्रह गरेको छ । 

आयोगले प्रेस मिट सम्बन्धी सूचना  वेभ साइटमा राख्नेछ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button