सीप विकास तालिम केन्द्रबाट करिब एक हजारले सीपमूलक तालिम लिँदै

पोखरा । गण्डकी प्रदेश सरकार अन्तर्गतको सीप विकास तथा व्यवसायीक तालिम केन्द्रबाट करिब एक हजार जनाले सीपमूलक तालिम प्राप्त गर्ने भएका छन् ।
बेरोजगार, एकल महिला, युवायुवती, वैदेशिक रोजगारीबाट फर्केका, गरिब तथा अति विपन्नलाई लक्षित गर्दै सीप विकास तालिम केन्द्रले सञ्चालन गरेको तालिमबाट यस आर्थिक वर्षमा करिब एक हजार जनाले सीपमूलक तालिम प्राप्त गर्न लागेका हुन ।
सीप विकास तथा व्यवसायीक तालिम केन्द्रले चालु आर्थिक वर्षको माघसम्ममा तीन सय बढीलाई सीपमूलक तालिम प्रदान गरिसकेको छ ।
तालिम केन्द्रले १५ दिनदेखि तीन महिना अवधिका तालिमहरू सञ्चालन गर्दै आएको सीप विकास तथा व्यवसायीक तालिम केन्द्रका प्रमुख प्रभु सिग्देलले जानकारी दिनुभयो ।
सीप विकास तथा व्यवसायीक तालिम केन्द्रले बेरोजगार, एकल महिला, युवा, वैदेशिक रोजगारीबाट फर्केका, गरिब तथा अति विपन्नलाई लक्षित गरी गण्डकी प्रदेशका सात वटा जिल्लामा विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ । तालिम केन्द्रले व्यूटीपार्लर, सिलाई कटाइ, मोबाइल मर्मत , मोटरसाइकल मर्मत , सैलुन, कुक , प्लम्बिङ , विद्युत् जडान, मन्टेश्वरी , कृषि हलो मर्मतलगायत ११ प्रकारका तालिम सञ्चालन गर्ने गरेको छ ।
सिप विकास तथा व्यवसायीक तालिम केन्द्रले सञ्चालन गरेको तालिम प्रति मानिसहरूको आकर्षण बढ्दो रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले तालिमको लागि आवेदन आव्हान गर्दछ र आवेदकहरूलाई अन्तरवार्ता मार्फत तालिममा सहभागीको लागि छनौट गर्ने गर्दछ ।
आवेदन आव्हान गर्दा कोटा भन्दा १० गुणा बढीको आवेदन पर्ने गरेको प्रमुख सिग्देलले बताउनुभयो ।
तालिम प्राप्त गरेका व्यक्तिहरू स्वरोजगार,व्यवसायी तथा स्वावलम्बन बन्ने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्