तपाईँ सुन्दै हुनुहुन्छः

सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणले हेर्नुपर्छ : प्रवक्ता डा.महत

फाइल तस्बिर

चितवन । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभएको छ । 

आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाई जस्तै हुनुपर्ने बताउनुभयो ।

अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोण र एमसिसीलाई हेर्ने दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार गर्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खतरा हुन्छ ।” 

एमसिसीका विषयमा अन्योल खडा नगरी संसद्बाट पास गर्नुपर्ने उहाँको तर्क छ । उहाँले थप्नुभयो, “एमसिसीमा अहिलेसम्म सरकारमा सहभागी दलहरूको सहभागिता रहेको  छ । नेपालको स्वार्थका आधारमा आएको हो, बखेडा झिक्नु गलत प्रवृत्ति हो ।”

नेता महतले सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसद्मा पेस गर्छु, यो गर्दिनँ भन्ने जिम्मेवारीभित्र पर्दैन ।” संसद्मा छलफल भए यस विषयमा निकास निस्कने उहाँको भनाइ छ ।

फरक प्रसङ्गमा बोल्दै उहाँले कांग्रेस अधिवेशन रोकिएका १६ जिल्लामा फागुन १३ गते अधिवेशन हुने बताउनुभयो । पहिला कोभिडका कारण रोकिएका अधिवेशन अब भने तोकिएको मितिमै हुने उहाँले बताउनुभयो । 

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा उहाँले यस विषयमा अहिले बहस गर्ने समय नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “गठबन्धनका विषयमा समय आएपछि छलफल हुन्छ ।” दलहरूले आ–आफ्नो आवश्यकताअनुसार छलफल गरेर मात्रै गठबन्धनका विषयमा टुङ्गो लाग्ने उहाँले जानकारी दिनुभयो । फाइदाका आधारमा गठबन्धनको निर्णय हुने उहाँको भनाइ थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button