बेलौरीबाट बरामद गरिएको २२ किलोग्राम बढी चरेस नष्ट

कञ्चनपुर । कञ्चनपुरको बेलौरीबाट यही माघ १५ गते साँझ बरामद गरिएको २२ किलोग्राम बढी चरेस नष्ट गरिएको छ ।
भारतीय नम्बर प्लेटको मोटरसाइकल सहित बेलौरीको बुटावारीबाट बेवारिसे अवस्थामा बरामद गरिएको २२ किलो १५० ग्राम चरेस आवश्यक अनुसन्धानपछि शुक्रवार बेलौरी नगरपालिका, बेलौरी उद्योग वाणिज्य सङ्घ, पत्रकार लगायतको उपस्थितिमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिनुभयो ।
पछिल्लो समयमा कञ्चनपुरमा प्रतिबन्धित लागु औषधको अवैध कारोबार बढेसँगै सुरक्षा निकायले समेत सक्रियता बढाएको छ ।
लागु औषधको कारोबारमा संलग्न व्यक्तिलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही हुने व्यवस्था छ ।
युवापुस्ता नै लागु औषधको कारोबारी र प्रयोगकर्ताका रुपमा फसिरहेको परिस्थितिलाई मध्यनजर गरी त्यसको रोकथाम र नियन्त्रणका लागि विद्यालय तहबाटै जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने र राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, उद्योगी व्यवसायी, नागरिक समाज सबै पक्षको सक्रियता बढ्नु पर्ने बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउदको धारणा छ ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा विशेष गरी नेपाल भारत सीमा क्षेत्रहरूमा लागु औषधको व्यापक कारोबार हुने गरेको छ ।
लागु औषध कारोबारको मुख्य केन्द्रबिन्दुका रुपमा परिचय बनाउन लागेको दक्षिणी क्षेत्रका सरोकारवालाहरूले समयमै ध्यान नदिने हो भने निकट भविष्यमा नयाँ पुस्ताका लागि गम्भीर भयावह दुर्घटना निम्तिने देखिन्छ ।







प्रतिक्रिया राख्नुहोस्